जोगिथुमको कुमाल बस्तीमा जनसहभागीतामा आधारित पूर्ण बिद्यार्थी भर्ना अभियान

तानसेन

पाल्पा–रिब्दीकोट गाउपालिकाको आयोजना र कालिका आधारभुत विद्यालय जोगिथुमको व्यवस्थापनमा, जनसहभागीतामा आधारित पूर्ण बिद्यार्थी भर्ना अभियान २०७५ बुधबार सुरु भएको छ । विद्यालय बाहिर रहेका रिब्दीकोट गाउपालिका १ जोगिथुमका कुमाल बालबालिकाहरुलाई विद्यालय भर्ना गरी शैक्षिक भविष्य उज्जवल बनाउने उद्देश्यका साथ भर्ना अभियानको उद्घाटन गाउपालिका अध्यक्ष नारायण बहादुर जीसीले गर्नुभयो ।

आर्थिक रुपमा विपन्न जनजाति समुदायको बाक्लो बस्ती रहेको जोगिथुमका कुमाल समुदायका बालबालिकाहरु विद्यालय भर्ना नहुने र भर्ना भएपनि नियमित रुपमा कक्षामा हाजिर नहुने समस्या रहेकोमा भर्ना अभियानपछि बालबालिका नियमित विद्यालयमा अध्ययन गर्ने अपेक्षा गाउपालिकाले लिएको हो । नयाँ शैक्षिक सत्रमा बालकक्षादेखि कक्षा आठसम्म १ सय २९ जना बालबालिकाहरु विद्यालय भर्ना भएको विद्यालयका प्रअ सुरेश कुमालले जानकारी दिनुभयो । विद्यालय सेवा क्षेत्रभित्रका १० जना बालबालिकाहरु विद्यालय बाहिर रहेकोले भर्ना अभियानका क्रममा ३ जना बालबालिकाहरु विद्यालयमा भर्ना गरिएको प्रअ कुमालले जानकारी दिनुभयो ।

गाउपालिका अध्यक्ष नारायण बहादुर जीसीले आर्थिक, सामाजिक, साँस्कृतिक रुपमा पछाडि परेको जोगीथुमको परिवर्तन ल्याउन सकिने बताउनुभयो । उहाँले परिर्वतनका लागि स्थानीय तह र स्थानीयबासिन्दाको सहयोग आवश्यक रहेको बताउनुभयो । कुमाल समुदायका बालबालिकाको भविष्य सुधार गर्न कुमाल समुदायको अग्रसरताको खाँचो रहेको बताउनुभयो ।

कार्यक्रममा गाउपालिकाका प्रशासकीय अधिकृत अनिल पौडेलले जोगिथुमको समृद्धि बनेमा रिब्दीकोट समृद्धि हुने बताउनुभयो । उहाँले यहाँका स्थानीयबासिन्दाको जीवनस्तर माथि उठाउन सवैको सहयोगको आवश्यकता रहेको औल्याउनुभयो । सोही कार्यक्रममा वडाध्यक्ष विष्णु प्रसाद गैरे, एमालेका स्थानीय नेता, भीमलाल पाण्डेय, काँग्रेसका लक्ष्मी गैरे, माओवादीका भीमबहादुर राना, विद्यालयका प्रअ सुरेश कुमाल स्थानीय कुमाल अगुवा नारायण बहादुर कुमाल, शिक्षा शाखा प्रमुख विष्णु प्रसाद बेलबासे, नेपाल पत्रकार महासघ अध्यक्ष राजेश कुमार अर्याल शैक्षिक स्तर सुधारका लागि सवैको साथ आवश्यक रहेको बताउनुभयो । स्रोत व्यक्ति लक्ष्मी ढुङ्गनाको सञ्चालन र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

गाउपालिको सहयोगमा खाजा कार्यक्रम
रिब्दीकोट गाउपालिका आयोजना जोगिथुमका कुमाल समुदायका बालबालिकालाई नियमित रुपमा विद्यालय ल्याउन लागि विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । गाउपालिका र विद्यालय बीच दिवा खाजा कार्यक्रम सम्झौता भएको छ । जेष्ठ १ गतेदेखि यहाँको कालिका आधारभुत विद्यालयमा दिवा खाजाको सुविधा विद्यार्थी पाउनेछन् । त्यसका लागि गाउपालिकाले प्रति विद्यार्थी प्रतिदिन २० रुपैयाँ बराबरको आर्थिक सहयोग गर्नेछ ।

दुर्गमको विद्यालय सुधार गर्न मनकारी जनप्रतिनिधि
विपन्न समुदायका बालबालिकाले अध्ययन गर्ने कालिका आधारभुत विद्यालयको सम्रग विकासका लागि सवै क्षेत्रबाट सहयोग जुटेको छ । गाउपालिका अध्यक्ष नारायण बहादुर जिसीले १२ हजार आर्थिक सहयोग गर्नुभएको छ । रिब्दीकोट गाउपालिका १ का वडाध्यक्ष विष्णु प्रसाद गैरैले २० हजार आर्थिक सहयोग गर्नुभयो । स्थानीय राजनीतिक दलका अगुवाले पनि विद्यालयका सुधारका लागि तन, मनसँगै धन पनि सहयोग गरे । स्थानीय एमालेका भीमलाल पाण्डेयले २ हजार ४ सय, काँग्रेसका लक्ष्मी गैरेले २ हजार ४ सय, माओवादी नेता भीम बहादुर रानाले २ हजार आर्थिक सहयोग गरे । पत्रकारहरु पनि एकआपसमा कानेसुखीपछि विद्यालयलाई नेपाल पत्रकार महासँघ पाल्पा शाखाले ५ हजार सहयोग ग¥यो । सामाजिक स्रोत विकास केन्द्र पाल्पाबाट १० हजार, रिब्दीकोट गाउपालिकाका कर्मचारीबाट १६ हजार, स्थानीय चिरन्जीवी पोखरेलबाट ६ हजार, गीता पाण्डेयबाट ६ हजार, स्रोत व्यक्ति लक्ष्मी ढुङ्गानाबाट ५ हजार, ख्याहा,पाल्पा काठमाण्डौं समाजबाट १० हजार बराबरको स्टेशनरी समान सहयोग गरी कुल ९९ हजार संकलन भएको छ ।

स्वास्थ्य, पशु र कृषिको शिविर
रिब्दीकोट गाउपालिकाको आयोजनाले स्वास्थ्य, पशु र कृषिको शिविर स्थानीयबासिन्दाले सुविधा पाएका छन् । खस्यौली स्वास्थ्य चौकी डाक्टर हलिना खातुनको नेतत्वमा स्वास्थ्यकर्मी टोली विरामीको स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको छ । १२० घर परिवार रहेको सो वस्तीमा बासिन्दा गाउँमा स्वास्थ्य सेवा पाएपछि खुसी बनेका छन् । तरकारीका विउ, घासका वीउ वितरण गरिएको छ ।