स्थानीय तहबाटै पार्टी संगठनमा नलागे पार्टी कमजोर हुने -प्रकाशमान सिंह

तिनाउ राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा-नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य प्रकाशमान सिंहले नयाँ संरचना अनुसार पार्टी अगाडी बढ्नु पर्ने बताएका छन् । पार्टी पुरानै विधि र विधान अनुसार चलेकाले अब परिवर्तन गरेर जानुपर्ने बताए । तानसेनमा नेपाली काँग्रेस पाल्पाको विस्तारित बैंठकलाई सम्बोधन गर्दै नेता सिंहले काँग्रेसलाई समय सापेक्ष र बदलिँदो परिस्थिति अनुसार चुनौतीहरुलाई चिर्न सक्ने संगठन बनाउनुपर्नेमा जोड दिएका छन् ।

उनले पार्टीको विधानलाई संशोधन गरी नयाँ संरचना अनुसार काम गर्नु पर्ने बेला आएको बताएका हुन् । लोकतन्त्र र मूल्यमान्यता विपरित पार्टी सञ्चालन भएकाले स्वाभाविक रुपमा महाधिवेशन गर्नु पर्ने बताए । नेता सिंहले अब स्थानीय तहबाटै पार्टी संगठनमा नलागे पार्टी कमजोर हुने बताएका छन् । आगामी दिनमा पार्टी संगठनलाई चुस्त बनाउनु पर्नेमा जिल्लाको नेतृत्वलाई आग्रह गरेका छन् । उनले पार्टी भित्र स्थानीय, जिल्ला र केन्द्रीय स्तरका नेताहरु विच सम्पर्क र समन्वय नभएकाले पार्टीले निर्वाचनमा हार व्यहोर्नु परेको पनि बताएका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभासद् तथा युवा नेता मोहन पाण्डेले पार्टीलेचुनाव हारे पनि एउटा उचाइ पाएको बताएका छन् । उनले परिस्थिती बदलीएकोले हिनतावोध नगर्न नेता तथा कार्यकर्ताहरुलाई सुझाव दिएका छन् । उनले यसलाई पाठका रुपमा लिएर अगाडि बढ्न पनि आग्रह गरेका छन् । नेपाललाई जोड्ने पार्टी काँग्रेसमात्रै भएको भन्दै उनले काँग्रेस अझै नहारेको बताए ।

जितको गौरबबाट आफूहरु अगाडि बढ्नु पर्ने बताउँदै चुनावमा हारेको हारको तीतो यथार्थ बिर्सन नहुने स्मरण गराए । नेता पाण्डेले निर्वाचन पार्टीको एउटा अङ्ग भएको पनि बताएका छन् । उनले जव सम्म निर्वाचलाई पार्टीको अङ्ग मानिदैन तव सम्म पार्टीले उचाई नलिने बताए । अब गरिव किसानको छोरा पनि चुनाव लडेर लोकतन्त्रलाई बचाउने अभियानको वतावरण पार्टी भित्र हनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभापति ठाकुर चन्द्र विप्लवले नेपाली काँग्रेसले लोकतन्त्रलाई भुल्दै गएकाले पार्टी असक्षम बनेको बताए । विस्तारित बैठकमा नेपाली काँग्रेसका भातृ संस्थाका प्रमुख उपप्रमुख, महाधिवेश प्रतिनिधिहरुले पार्टी विस्तार र पार्टीको वर्तमान परिस्थितिको आ–आफ्नो धारणा राखेका थिए ।

उनिहरुले आगामी दिनमा पार्टीभित्र मौलाउँदै गएको गुटबन्दीलाई अन्त्य गर्दै पार्टी व्यक्तिबाट भन्दा सिद्धान्त, निष्ठा र आदर्शबाट सञ्चालन गर्नुपर्ने सुझाव नेतृत्वलाई दिएका थिए । विशेषगरी प्रतिनिधिसभा र प्रदेशभसभा सदस्य निर्वाचनमा पार्टीले आन्तरिक कारणले धेरै सिट गुमाउनुपरेको धारणा बैठकमा राख्दै आगामी दिनमा पार्टीलाई जीवन्त बनाइराख्न संगठन र कार्यशैली परिवर्तन गर्नुपर्ने खाँचोसमेत औँल्याएका थिए ।

बैंठकमा उठेका विषयहरुलाई सम्बोधन गर्दे नेपाली काँग्रेस पाल्पाका सभापति वीर बहादुर रानाले काँग्रेसको विचारलाई गाउँ गाउँ पु¥याउनका लागि जिल्लाको सिङ्गो पार्टी लागेको बताए । सभापति रानाले पार्टीको विचार र सिद्धान्तलाई गाउँ बस्तिमा पु¥याउन सकेमा कुनै पनि शक्तिले परास्त गर्न नसक्ने बताए । स्थानी तहले जिल्लाको निर्देशन पर्खने र जिल्लाले केन्द्रीय निर्देशन पर्खने प्र्रवृतिले पार्टी संगठन चुस्त हुन नसक्ने भएकाले अब सवै स्वायत्त भएकाले आ आफ्नो ठाउँबाट संगठ विस्तारमा लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।