रिब्दीकोट गाउपालिकाको प्रगति ४४ प्रतिशत

तानसेन तिनाउ

पाल्पा- रिब्दीकोट गाउपालिकाले शिक्षा, स्वास्थ्य र सहकारी सम्वन्धि ऐन स्थानीय राजपत्रमा प्रकाशनको तयारीमा जुटेको छ । गाउपालिकाले विभिन्न चरणमा सरोकारवाला निकायसँग छलफलबाट पूर्णता पाएपछि दोस्रो गाउसभाबाट सो ऐन पारित भएको हो ।

राजपत्रमा प्रकाशनका लागि स्थानीय राजपत्र सम्वन्धि कार्यविधि पारित गरी राजपत्रमा प्रकाशन गर्ने तयारी भइरहको गाउपालिका अध्यक्ष नारायण बहादुर जीसीले बताउनुभयो ।

रिब्दीकोट गाउपालिकाले पारित विधेयक तथा हालसम्म भए गरेका काम कारबाही सम्वन्धि पत्रकार सम्मेलनमा सुत्केरी महिललाई सुत्केरी भएको १५ दिनपछि नेपाल सरकारले दिएको सुविधाका अलावा सुत्केरीकै हातमा १ हजार पाँच सय थप गरी सुविधा प्रदान गरिएको बताउनुभयो ।

उहाँले गाउँपालिकाभित्रका प्रसुतिगृहमा सुत्केरी हुन नसक्ने महिलाहरुलाई गाउपालिकाले तोकेको सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुनेहरुलाई समेत सुत्केरी भत्ता दिदै आएको जीसीले बताउनुभयो । यो सुविधा ७४ जना महिलाले लिन सफल भएका छन् ।

गाउपालिकाको सभाहल निर्माण, सवै वडाहरुमा कम्प्युटर, प्रिन्टर जडान कार्य भइरहेको छ । गाउपालिकाले हालसम्म १० ओटा उजुरीलाई न्यायिक समिति मार्फत निरुपण गर्न कार्य सम्पन्न गरेको गाउपालिका उपाध्यक्ष लक्ष्मी खनालले जानकारी दिनुभयो ।

रिब्दीकोट गाउपालिकाले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ४४. ०५ प्रतिशत प्रगति हासिल गरेको छ । चालुगततर्फ ५३. ५८ प्रतिशत र पुजीगततर्फ २८.९५ प्रतिशत प्रगति भएको हो ।

गाउपालिकाले ८ वडामा ८० लाखका दरले ६ करोड ४० लाख बजेट तथा कार्यक्रम मध्य २ करोड ३६ लाख ६३ हनार ५२५ रुपैयाँ बजेट खर्च भएको हो ।

प्रशासकीय अधिकृत अनिल पौडेलले गाउपालिकाले चालुतर्फको निसर्तमा ३ करोड ९५ लाख ५० हजार विनियोजित बजेट मध्य १ करोड २८ लाख ९३ हजार १ सय ३७ रुपैयाँमा र ससर्ततफ १४कोड ८६ लाख २५ हजार बजेट मध्य ८ करोड ७९ लाख ३२ हजार ५ सय ५५ रुपैयाँ चैत २२ गतेसम्म खर्च भएको जानकारी दिनुभयो ।

यस आवमा गाउपालिकाले ३० करोड ६८ लाख ९२ हजार ६ सय ७७ रुपैयाँमा बजेट विनियोजन गरेको थियो । नौ महिनाको अवधिमा ३५ योजनाको काम सम्पादन गरिएको गाउपालिकाले जनायो ।