काम नगर्ने कर्मचारीलाई दण्डित गछौं- मन्त्री पण्डित

तिनाउ राष्ट्रिय

पाल्पा-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काम नगर्ने राष्ट्रसेवक कर्मचारीलाई दण्डित गर्ने बताउनुभएको छ । उहाँले काम गर्ने कर्मचारीलाई पुरस्कार गर्ने नीति लिएको बताउनुभएको हो । कर्मचारीलाई पहिला कर्म, त्यसपछि फलको आश गर्न अनुरोध गर्नुभयो ।पाल्पा जिल्लालाई ४८ औं खुल्ला दिशामुक्त जिल्ला घोषण गर्दै आज तानसेनमा मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीहरुको साथ लिएर देशलाई समृद्धिको बाटोमा लैजान जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।

उहाँले संघीय संरचनामा कुनै स्थानीय तहमा कर्मचारीको अभाव हुन नदिने बताउनु भएको छ । उहाँले स्थानीय तहमा चुस्त दुरुस्त सेवा प्रवाह हुने बताउनुभयो ।देश संघीय संरचनामा भएको हुदा कर्मचारी अपुग जस्तो महसुुुुस भएको भन्दौ उहाँले केन्द्रिकृत प्रशासनिक संक्रमण समाप्त हुने बताउनु भएको छ । मन्त्री पण्डितले जनताको काम नगरी यतिकै दिन बिताउ‘छु भन्ने कर्मचारीका दिन अब गएको बताउनु भयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सोम प्रसाद पाण्डेयले पाल्पा खुला दिसामुक्त घोषणा भएकोले सरसफाई कार्यक्रमलाई निरन्तरता दिनुुपर्ने बताउनुभयो ।कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति दयाराज बस्याल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका प्रमुख केशवलाल शाक्य, क्षेत्रिय स्वच्छता समन्वय समिति पोखराका संयोजक रमाकान्त दवाडी, गैसस, पाल्पाका अध्यक्ष भेषराज तिमिल्सेना लगायतले सरसफाई कार्यक्रम सफल बनाउन सवैको सहयोग आवश्यक रहेको बताउनुभयो ।