जनप्रतिनिधिले सेवा सुविधाप्रति लोभ नदेखाउनुहोस – मन्त्री पण्डित

तिनाउ राष्ट्रिय

पाल्पा-संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितले जननिर्वाचित प्रतिनिधिलाई सेवा र सुविधामा मात्र ध्यान केन्द्रीत हुदाँ जनताका काम प्रभावित हुने भएकोले त्यसतर्फ सेवा सुविधालाई प्रमुख एजेण्डा नबनाउन अनुरोध गर्नुभएको छ । पाल्पाको मदनपोखरामा सञ्चालित सामुदायिक रेडियोे मदनपोखराको २० आंै बार्षिकोत्सवका अवसरमा जनताको सेवामा लाग्न अनुरोध समेत गर्नुृभयो ।

उहाँले सरकारले तोकेको ठाउँमा जान नचाहने कर्मचारीलाई जागिर छोडेर जान चेतावनी दिनुभएको छ । मन्त्री पण्डितले सरकारले पठाएको ठाउँमा जान नचाहने र अटेरी गर्ने कर्मचारीहरुलाई जागिर छोडेर जान चेतावनी दिँदै भन्नुभयो –“सरकारलाई अटेरी गरेर बसिरहने हो भने जागिर छोडेर जानुहोस् । मैले जान चाहनेलाई रोक्न सक्दिन । बरु म त नयाँ पुस्तालाई ल्याउन आतुर छु । नयाँ ढंगले सरकारी कामकाज गराउन आतुर छु ।”

मन्त्री पण्डितले देशभित्रको काम छोडेर विदेशमा रमाउने हो भने देशले कहिल्यै कोल्टो नफेर्ने बताउनुभयो । उहाले बाध्यताले विदेशमा रहेर काम गर्ने युवाहरुलाई आँट र वर्तमान सरकारलाई विश्वास गरेर देश फर्कन अनुरोध गर्नुभयो ।प्रतिनिधि सभा सदस्य सोम प्रसाद पाण्डेयले सुचनाको लोकतन्त्र ल्याएको भनेर चिनिने दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो मदनपोखराले जनयुद्धमा अनेक धम्की आउँदा समेत चलाउने आँट गरेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल, पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, बगनासकाली गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल, पूर्व सभासद नारायणी शर्मा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव किरण कौशलले सञ्चारको क्षेत्रमा सामुदायिक रेडियो मदनपोखरा एउटा उदारहणीय जनपक्षिय प्रसारण संस्था बनेको बताउनुभयो ।

समारोहमा सारेमका स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले ५६ लाख रुपैँया बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभयो । कार्यक्रममा सारेम सञ्चालक समितिका उपाध्यक्ष गुणाकर अर्यालले स्वागत गर्नुभएको थियो भने सञ्चालक समिति सदस्य लक्ष्मी पाठकले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । सञ्चालक समिति सदस्य घनश्याम घिमिरेको सञ्चालन र अध्यक्ष झपेन्द्र जीसीको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।