सफलताको कथाः माओवादी पूर्व जनसेना गाईपालनमा सफल

रामपुर राष्ट्रिय

पाल्पा-बम र बारुदसँग खेल्ने माओवादी पूर्व जनसेना पाल्पा जिल्लाको तानसेन नगरपालिका–१४, अर्गलीकी पवित्रा गैरे अहिले गाईपालन व्यवसायमा सफल बन्नुभएको हो ।
२०५९ सालदेखि माओवादी सेनामा सफल प्लाटुन कमाण्डर मेहनतका कारण गाईपालन व्यवसायमा मासिक १ लाख रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ । गाईको दुध बेचेर जोखिएको नाफा नै घरखर्चको लागि जोहो गर्दै आउनुभएको हो । हाल गैरेसँग १५ ओटा जर्सी गाई मध्ये ९ ओटा गाईले दैनिक ८० लिटर दुध उत्पादन हुदँै आएको छ ।

जीवनमा कहिले के हुन्छ, त्यो कुरा मान्छेलाई थाहा नै हुदैन् । घटना घटेपछि जीवनमा नयाँ नयाँ काम गर्नुपर्ने अवस्था आउँदो रहेछ भन्ने नमुना पात्र पवित्रा गैरे पनि एक हो । जनयुद्ध गरी देशको सामाजिक साँस्कृतिक तथा राजनीतिक परिवर्तनका लागि जनसेनामा आवद्ध हुनुभयो । तर माओवादी शान्तिप्रक्रियामा आएपछि गैरे सेना समायोजनमा सहभागी हुनुभएन, उहाँले स्वेच्छिक अवकाशका साथ पाँच लाख रकम बुझेर आफ्नो जन्मघर अर्गलीको गाउँ फर्केर गाईपालन गर्न थालेको अहिले चार पाँच वर्ष भयो ।

दुई लाख लगानीमा गाईपालनका लागि गोठ र दुई ओटा जर्सी गाई पालन थाल्नुभएको अहिले पाँच वर्षको अवधिमा १५ लाख भन्दा बढीको भौतिक संरचना निर्माण भइसकेको गैरेले बताउनुभयो ।

तानसेन नगरपालिकाको गाइघाटमा अहिले १७ रोपनी जग्गा गाईफाम सञ्चालनमा रहेको छ । २ रोपनी जग्गामा गाई फर्म रहेको छ भने अन्य जमिनमा घास खेती गर्दै आएको गैरेले बताउनुभयो । उहाँले प्रशस्त जमिनको अभावमा वार्षिक ३६ हजार भाडामा जमिन प्रयोग गर्दै आएको बताउनुभयो ।

गाईपालन व्यवसायमा युवाको आकर्षण पछिल्ला वर्षमा बढेपनि यो पेशा चुनौतीपूर्ण बन्दै गएको छ । गाईपालन पेशामा आधुनिकता नआएकोले गर्दा समस्याहरु प्रशस्त रहेका छन् ।

गाईपालन व्यवसायलाई टिकाई राख्न भने चुनौती बन्दै गएको छ । स्थानीय तहबाट यस्ता नमुना किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याउन सकेको अवस्थामा गाईपालन व्यवसाय सफल हुने आशा किसानको छ ।

मेहनत गर्ने वास्तविक किसानले राहत नपाएको गैरेको गुनासो छ । वास्तविक किसानले भन्दा गैर किसानले किसानका नाममा सुविधा प्रयोग गरेकोमा चिन्तित बन्दै आउनुभएको छ ।