बन्दीपोखरा धरमपानी क्षेत्र नमुना बस्ती

राष्ट्रिय

माधव अर्याल

पाल्पा — तानसेन नगरपालिका ५ बन्दीपोखरा धरमपानी क्षेत्र नमुना बस्ती (स्मार्ट सिटी) बनाउने काम अघि बढेको छ ।  तानसेन, ५ लक्ष्मी माविमा यस क्षेत्रका बासिन्दाको भेलामा नगरप्रमुख अशोककुमार शाहीले नमुना बस्ती विकासका लागि कार्यान्वयन समिति निर्माण गरी औपचारिक रूपमा काम सुरु भएको बताए ।

नमुना बस्ती अर्थात् स्मार्ट सिटी निर्माणमा तानसेन नगरपालिकाले नियुक्त गरेको कन्सल्टेन्टसहित सहभागितामा स्थानीयको भेला भएको छ । नगर प्रमुख शाहीले समयअनुसार विकासका लागि नमुना बस्ती अर्थात् स्मार्ट सिटी आवश्यक रहेको बताए । सोहीअनुसार काम अघि बढाएको छ । ‘तानसेन नगरपालिकाको बजार क्षेत्रमा बस्ती विकास सम्भावना कम भएकाले यस भेगमा काम अघि बढेको हो,’ उनले भने । नगरपालिकाले कन्सन्टेन्ट नियुक्त गरी काम अघि बढेको छ ।

भेलामा सहभागी कन्सल्टेन्ट कोअर्डिनेटर मनोज गुप्ताले खेर गएको जमिनलाई व्यवस्थित गर्न आधुनिक बस्ती विकास योजना लागू हुने बताए । उनका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार एकै खालको भवन, सडक, शिक्षा, स्वास्थ्य, खानेपानीमा सहज पहुँच उक्त बस्तीमा हुनेछ ।

शतप्रतिशत खानेपानी सुविधा, शौचालय व्यवस्था, ५० शय्याको अस्पताल, एकीकृत व्यावसायिक केन्द्र, सपिङमलको व्यवस्था, ५ प्रतिशत हरियाली क्षेत्र, प्रत्येक घरमा रुख, ठाउँठाउँमा निश्चित खुला क्षेत्र स्मार्ट सिटीका मापदण्ड हुन् । आवासीय, प्रशासनिक तथा कार्यालय र औद्योगिक क्षेत्र व्यवस्थित तथा छुट्टाछुट्टै हुनुपर्ने, प्रत्येक घरमा यातायात सहज पहुँच, प्रत्येक व्यक्ति सूचना प्रणालीमार्फत् राजश्व प्रणालीमा जोडिने, चुस्तदुरुस्त पारदर्शी प्रशासन, नवीकरणीय ऊर्जाको प्रयोगजस्ता मापदण्ड सरकारले तोकेको छ ।

वातावरणमैत्री, जलस्रोतको उचित व्यवस्था, निजी क्षेत्रसँग प्रत्यक्ष सम्पर्क, क्यासलेस भुक्तानी व्यवस्था, एक स्थानबाट अर्कोसम्म पुग्न आधा घण्टाभन्दा बढी नलाग्ने यातायात व्यवस्था, न्यून कार्बन उत्सर्जनलगायत मापदण्ड तोकिएको छ । कन्सल्टेन्टकै आर्किटेक इन्जिनियर श्वेता गुप्ताले बस्ती विकास योजना गर्दा विकासका सबै पक्षलाई आत्मसाथ गरिने बताए । बालबालिकाका लागि पार्क, सुविधा सम्पन्न सडक, विपद व्यवस्थापनमा आवश्यक औजारजस्ता विषय बस्तीमा तयार गरिने छ ।

भेलामा सहभागीले विकासका लागि आफूहरू नयाँ बस्ती निर्माणमा सहभागी भएको बताए । उनीहरूले आवश्यक जग्गा व्यवस्थापनका लागि उपलव्ध गराउने गरी सहमतिसमेत दिएका छन् । वडाका सबै टोलमा पुगेर विस्तृत जानकारी गराउँदै सहमति जुटाउन योजना कार्यान्वय समिति समेत निर्माण गरेका छन् । समिति संयोजकमा माओवादी केन्द्रका जिल्ला नेता नेत्रप्रसाद पाण्डे छन् । यसैगरी सहसंयोजकमा एमाले नेता बुद्धबहादुर रावल र कांग्रेसका मानबहादुर कार्की चयन भए । प्रत्येक टोलबाट प्रतिनिधित्व हुनेगरी सदस्य रहने छन् । जनप्रतिनिधि र राजनीतिक दलका प्रमुखका साथै स्थानीय बुद्धिजीवी सल्लाहकार रहनेछन् ।

भेलामा तानसेन ५ का वडाध्यक्ष रामबहादुर रावलले नयाँ बस्ती विकास योजना कार्यान्वय समिति गठन भएलगत्तै बैठक बसेर काम अघि बढ्ने बताए । निर्वाचनका बेला स्थानीय जनप्रतिनिधिले आ–आफ्ना क्षेत्रमा स्मार्ट सिटी बनाउने घोषणा गर्दै हिँडेका थिए । तर यहाँ कुनै अध्ययनबिना स्मार्ट सिटीको अवधारणा आएको हो । सहरी विकास मन्त्रालयसँग समन्वय गरेर मात्र काम हुनुपर्छ । यो व्यवस्थित सहरीकरणभन्दा माथिल्लो स्तरको अवधारणा हो ।

सहरीकरणको खाका नै नभएका बेला दाताको लहैलहैमा लागेर स्मार्ट सिटीको अवधारणा अघि सारिएको जानकार बताउँछन् । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सरकारले आव ०७२/७३ को बजेटमार्फत नेपालमा पहिलोपटक स्मार्टसिटी अर्थात् नमुना बस्ती निर्माण घोषणा गरेको थियो । जसमा काठमाडौं, लुम्बिनी र निजगढमा एक–एक स्मार्ट सिटी विकास गर्न गुरुयोजना तयार पारी कार्यान्वयनमा लगिने बताएको थियो । त्यसैको निरन्तरताअनुरूप त्यसपछिको केपी ओलीको सरकारले थप १० सहरमा स्मार्ट सिटीको अध्ययन गर्न र डिपिआर तयार गर्न भने पनि अहिलेसम्म सम्भाव्यता अध्ययन मात्रै भएको छ । त्यसपछि खासै उपलब्धि भएको छैन । तर पछिल्लो समय स्थानीय तहको निर्वाचनको नारा भने स्मार्ट सिटी बनाउने रहेको छ । kantipurbar