बगनासकाली गाउपालिकामा लोप हदैँ रैथानेबाली

रामपुर राष्ट्रिय

पाल्पा- रैथानेबालीप्रति पाल्पाका किसान आकर्षित हुन नसक्दा रैथानेबाली लोप हुदैँ गएका छन् । किसानको आकर्षण घटेपछि रैथाने अन्नवाली लोप हुने खतरा बढेको हो ।

प्रशस्त उत्पादन हुन नसक्दा, वीउको समेत समस्या बढेपछि परम्परागत खेती हराउन थालेको हो । बगनासकाली गाउपालिका–५, दर्लमडाडाका नेत्रप्रसाद गैरेका अनुसार रैथाने बाली उत्पादनमा किसानको आकर्षण घट्दा परम्परागत अन्नवाली लोप हुने खतरा बढेको हो ।

उत्पादनमा कमी र मेहनत बढी गर्नुपर्ने भएको स्थानीयबासिन्दा परम्परागत खेती गर्न छाडेका हुन । कोदो, फापर, सिलाम, गहत, सिल्टुङ्ग, मास, बटमास, धौ, गहुँ, तिल, खेतीतर्फ किसानको आकर्षण छैन ।

गाउँ बस्ती छाडेर शहरमा बसोबास गर्ने र पशुपालनमा नहुने र ती खेतीका लागि प्रशस्त मलका अभावमा परम्परात खेतीप्रति संकट सिर्जना भएको हो । किसानहरु उन्नत जात अन्नवाली खेतीप्रति रुचि बढाएका छन् ।

रैथानेबाली खेती गर्दा उत्पादन कम हुने र यी उत्पादित बाली घरमा नास्ताका रुपमा प्रयोग हुने गर्दथ्यो । स्थानीयबासिन्दा विष्णु प्रसाद घिमिरेले सानामा चिउरीको पातमा रोटी आगोमा पकाएको खाएको सम्झना सुनाउनुभयो । उहाँले बाल्यकालमा कोदो चार पाच मुरी उत्पादन हुनेमा अहिले पाच सात पाथी मात्र उत्पादन हुदैँ गएको बताउनुभयो ।

गाम्रीण क्षेत्रबाट मानिसहरु शहरमा बसाईसराई गरी जानु र गाउँमा बसोबास गर्नेहरुले समेत परम्परागत खेती बाली उत्पादनमा चासो नराख्दा ती बाली उत्पादन हुन छाडेका छन् । अहिले यस क्षेत्रमा फापर, धौ, तिल, लगायतका खेती गर्ने किसानहरु पाँच प्रतिशत मात्र रहेको गैरेको भनाई छ ।

उन्नत मकै र धानप्रति अझै आकर्षण नघटेपनि स्थानीय जातका धान तथा मकै खेती गर्न छाडेका छन् । उन्नत जातका र बढी फल फल्ने अन्नवालीतर्फ यहाँका किसानहरु आकर्षित हुन थालेपछि प्राचिनकालीन अन्नवाली उत्पादन गर्नेहरु वर्षेनी कमी हुन थालेपछि परम्परात खेती लोप हुने अवस्था देखिएको स्थानीयबासिन्दाको भनाई छ ।

उन्नत जातका मकै खेतीले जिल्ला आत्मनिर्भर भएपनि चामलमा भने पाल्पामा अझै परनिर्भरता हट्न सकेको छैन ।जलवायु परिर्वतनका कारण वर्षेनि परम्परागत खेती हुन छाडेको जिल्ला कृषि विकास कार्यालय पाल्पाले जनाएको छ ।