अरुको जग्गामा गोलभेडा खेतीबाट दश लाख आम्दानी

तिनाउ रामपुर समाचार
सेयर गर्नुहोस

पाल्पा- रैनादेवी गाउँपालिका–५, मुझुङ्गका सन्तोष बम्रेलले भाडाको जग्गामा मेहनत गरेर गोलभेडा रोप्नुभयो, त्यही गोलभेडाले अहिले घरमा नै बसेर पैसा कमाइ रहनु भएको छ । श्रम र पसिना पोखे स्वदेशका भिरपाखमा पनि पैसा कमाउन सकिन्छ भन्ने नमुना पात्र सन्तोष बम्रेल हुन ।

‘झण्डै १५ रोपनी जग्गा गोलभेडा खेतीका लागि वार्षिक पचास हजार लिर्नुपर्छ,’ धन बहादुर पुनले भन्नुभयो,– ‘गोलभेडा खेतीमा श्रम र पसिना पोखे विदेशमा भन्दा बढी आम्दानी लिन सकिन्छ ।’ गोलभेडा खेतीबाट अहिले १० लाखसम्म आम्दानी गर्न सफल भएको किसान धन बहादुर पुनले बताउनुभयो ।

जग्गाको अभावमा भाडामा बारीमा व्यवसायिक गोलभेडा खेतीतर्फ आकर्षित बनेका छन् । अर्का युवा तिलक रानाले भाडाको जग्गामा तरकारी खेतीबाट सात आठ लाख आम्दानी लिन थालेपछि हौसिएका छन् । गाउँमा गोलभडो खेतीबाट ५० हजारदेखि १० लाखसम्म आम्दानी लिनेको सङ्ख्या वर्सेनि बढेका छन् ।

मुझुङ्गमा भाडाको जग्गामा गोलभेडा खेतीबाट दश लाख आम्दानी लिन थालेपछि गाउँबाट रोजगारका लागि अन्यत्र जान परेको छैन । तरकारीका लागि बजारको भरपर्नेहरु यतिबेला गोलभेडा खेतीबाट वार्षिक पचास हजार जग्गाधनी तिरेर अहिले दश लाख आम्दानी गर्न सफल देखिएका हुन । व्यवसायिक तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि सयौं घरपरिवारको जीवनस्तरमा सुधार आएपछि परिवार खुसी छन् ।

पाल्पाली गोलभेडाको माग बजारमा एकदमै राम्रो रहेको र यस बर्ष मुल्य पनि राम्रो भएकाले किसानहरुहरु आफ्नो बारीको गोलभेडाको बोटलाई निकै स्याहार गर्न ब्यस्त देखिन्छन ।

गोलभेडाको मुल्य अहिले प्रतिकिलो १०० रुपैयाँको हाराहारीमा बजार मूल्य रहेको छ । गतवर्र्ष भन्दा यस वर्ष प्रतिकिलो ७० देखि ८० रुपैयाँ किसानले पाउने भएपछि किसानहरु खुसी रहेको मुझुङ्ग कृषि सहकारी सस्थाका सदस्य चन्द्रवीर कार्कीले बताउनुभयो ।

किसानलाई गोलभेडा उत्पादनपछि बजारको समस्या झेल्न नपर्ने भएपछि झनै सजिलो भएको छ । सहकारीले बजार व्यवस्थापन, मल, बीउ, तथा प्राविधिक सहयोग र ऋण समेत व्यवस्था गरेपछि गोलभेडा खेतीमा स्थानीय आकर्षित बनेका छन् ।

पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा र बुटवलमा मात्र बिक्री हुँदै आएको गोलभेडा अहिले पोखरामा सम्म बिक्री हँुदै आएको र दैनिक ५० देखि ६० क्वीन्टल गोलभेडा उत्पादन हुँदै आएको बजार व्यवस्थापनका संयोजक अम्बर बहादुर कार्कीले बताउनुभयो ।