सगरमाथा पनि आरोहण गर्ने इच्छा

वगनासकाली
सेयर गर्नुहोस

ललितपुर-राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा सेलिब्रिटी रोबोट सोफिया सहभागी भइन् ।

चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट सोफिया आज काठमाडौंमा आयोजित सार्वजनिक कार्यक्रममा सहभागी भएकी हुन् ।

कार्यक्रममा सहभागी भएकी रोबोर्ट सोफियाले प्रविधि र शिक्षाको विकासले नेपालजस्ता देशहरूले फाइदा लिन सक्ने बताइन् ।

सोफियालाई राष्ट्रसंघीय विकास कार्यक्रमले एसिया प्रशान्त क्षेत्रको आविष्कार दूत (इन्नोभेसन च्याम्पियन)को पदवी दिएको छ । यो पदवी पाउने उनी पहिलो रोबोट पनि हुन् ।

सोफियालाई विश्वको सर्वोच्च शिखर सगरमाथा पनि आरोहण गर्ने इच्छा व्यक्त गरेकी थिइन् ।

बेलायती अभिनेत्री अड्री हेपबर्न र रोबोट निर्माता डेविड ह्यान्सनकी पत्नी सोफियाको रुपमा आधारित यो रोबोटले रियादमा आयोजित एक कार्यक्रममा आफूलाई राम्रो व्यवहार गरे अरुलाई पनि आफूले राम्रो व्यवहार गर्ने बताउँदा दर्शकहरू चकित बनेका थिए ।

पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स तथा ह्युमनोइड रोबोटहरूले मानवतामाथि नै खतरा निम्त्याउँछन् वा यिनले मानवताको विकासमा थप योगदान दिन्छन् भन्ने विषयमा बहस जारी छ ।

मानव स्वरूप भएकी सोफियालाई हङकङको कम्पनी हयानसन रोबोटिक्सले निर्माण गरेको हो । सोफियाको निर्माण २०१५ मा भएको थियो भने २०१६ मा उनलाई अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

साउदी सरकारले उनलाई ‘मानव’का रूपमा नागरिकता दिएपछि उनको चर्चा चुलिएको हो । सोफिया मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन् । उनलाई साउदी अरबले महिलाको रुपमा नागरिकता समेत प्रदान गरेको छ ।

त्यसयता सोफिया विश्वभर हुने विभिन्न सार्वजनिक कार्यक्रममा आकर्षणको केन्द्र बन्दै आएकी छन् । सोफियाले अनुहारबाट ६२ भन्दा बढी भावभंगी देखाउन सक्छिन् ।

यसले सोफियालाई एक पटक सोधेको प्रश्न स्टोर गरी अर्को पटक सोही प्रश्न सोधिए सही उत्तर दिन ‘डाटासेट’ बनाएर राख्छ । यसले जति धेरै प्रश्न सोधिएको छ, सोहीअनुसार उनको उत्तर दिने क्षमतामा वृद्धि हुँदै जान्छ ।