अम्रिसोको बन स्थानीयको धन

तानसेन राष्ट्रिय

रेखीराम राना 

पाल्पा-निस्दी–३ झिरुबासका स्थानीय बासिन्दा अहिले व्यावसायिक अम्रिसो खेतीमा व्यस्त छन् ।परम्परादेखि खोरिया फाडेर मकै, पिँडालु, बेसार लगाउने यहाँका बासिन्दा अहिले अम्रिसोको कुचो, डाँठ र बिरुवा बिक्री गरेर वर्षमा लाखौँ रुपियाँ आम्दानी गर्न सफल भएका हुन् ।
अम्रिसो खेती अहिले आम्दानीको अब्बल माध्यम बनेको यहाँका किसान बताउँछन् ।

परम्परादेखि नै मगर समुदायको बसोबास रहेको यस क्षेत्रका किसानले जीविकाका लागि वर्षौंदेखि सयौँ हेक्टर जमिनमा खोरिया (खेती गर्न लायक जग्गा) बनाई मकै, पिँडालु, अदुवा र बेसार लगाउने गर्थे । छ वर्षअघि कबुलियती वन कार्यक्रम सञ्चालन भएपछि यहाँका बासिन्दाले अम्रिसो, टिमुर, कागतीबाट फाइदा लिँदै आएका छन् ।

कबुलियती वनले आम्दानी बढाएर बचत गर्ने बानीको विकाससमेत गराएको छ । खोरिया फाड्दा तीन महिना पनि गुजारा गर्न हम्मेहम्मे हुन्थ्यो, स्थानीय बासिन्दा खिममाया सुनारीले भन्नुभयो । अहिले घरखर्च चलाएर समूहमा बचत पनि गरेकी छु ।

यहाँका पाँचवटा समूहमा एक सय १९ घरका परिवार आबद्ध भएर अम्रिसोको गोडमेल, रेखदेख र स्याहारसुसार गरिरहेका छन् । पहिले खोरिया खन्ने क्षेत्रमा आ–आफ्नो प्लट बनाएर अम्रिसो, कागती, तेजपत्ता, टिमुरजस्ता जडीबुटी समेत लगाएका छन् । यस्तै व्यक्तिगत जग्गामा समेत यहाँका स्थानीय बासिन्दाले अम्रिसो खेती गरेको झिरुबास खादरका स्थानीय बासिन्दा अनिल सोमैले बताउनुभयो ।

वर्षमा आठ सयदेखि १२ सय किलोसम्म अम्रिसो बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अम्रिसो प्रतिकिलो ४० देखि ९० रुपियाँमा बिक्री हुने गरेको छ । गत वर्ष ९५ रुपियाँ किलोसम्म अम्रिसो बिक्री गरियो, सोमैले भन्नुभयो ।

यो वर्ष भाउ परेको छैन, त्यसैले किसानले अझै अम्रिसो काटेका छैनन् । उहाँका अनुसार अम्रिसोको डाँठ प्रतिकिलो तीनदेखि पाँच र बिरुवा प्रतिगोटा एकदेखि तीन रुपियाँसम्ममा बिक्री हुन्छ ।
झिरुबास काउलेडाँडाका स्थानीय बासिन्दाले गत वर्षमा दुई करोड रुपियाँ बराबरको अम्रिसो, अम्रिसोको बिरुवा र डाँठ बिक्री गरेका थिए । यो वर्ष भाउ आएपछि अम्रिसो काटेर भित्र्याउने स्थानीय बासिन्दा तथा अम्रिसोका व्यापारी यामबहादुर सोमैले बताउनुभयो । दुई सय ४७ हेक्टर जमिनमा अम्रिसो लगाएपछि यहाँका स्थानीय बासिन्दाको दस गुणा बढी आम्दानी बढेको छ ।

पहिले खोरिया फाडेर बस्दा तीन महिना खान पुग्ने यहाँका बासिन्दालाई कबुलियती वन समूहमार्फत बाख्रापालन, भैँसीपालनमा समेत सहयोग पुगेको काउलेडाँडा कबुलियती वन समूहका पूर्वअध्यक्ष दमनसिंह पाटाले बताउनुभयो । कबुलियती वनले यहाँका मानिसको जीवनमै आधारभूत रूपमा परिवर्तन ल्याएको छ, उहाँले भन्नुभयो । समूहमा काम गर्ने शैलीमा विकास भएको छ, बचत गर्ने बानीको विकास भएको छ ।