सुन्तलाको बिरुवाबाट पाँच लाख आम्दानी

रामपुर

पाल्पा–व्यवसायिक रुपमा सुन्तलाको विरुवा उत्पादनबाट वार्षिक पाँच रुपैयाँ आम्दानी लिन थालेका छन् ।  जिल्लाको रैनादेवी छहरा गाउपालिका–४, अम्लाबासका ७७ वर्षीय यमलाल कोइरालाले सुन्तलाको विरुवा बेचेर पाँच लाख रुपैयाँ आम्दानी लिन सफल हुनुभएको छ ।
कोइरालाले बीस रोपनी जग्गामा फैलिएको नीजि बगैचाबाट मात्र वार्षिक ४० देखि ६० हजारसम्म सुन्तलाका विरुवा अन्यत्र जिल्ला निकासी हुँदै आएको हो ।

अम्लाबाँसमा हुर्काइएका सुन्तलाका विरुवाहरु पश्चिम नेपालको दार्चुला, रोल्पा, सल्यान, कैलाली, प्युठान, अर्घाखाँची, गुल्मी स्याङ्गजा, पर्वत, वाग्लुङ्ग, कास्की, तनहु, नवलपरासीसम्म निर्यात हुँदै आएको कोइरालाले बताउनुभयो । करिब ४० वर्षदेखि नीजि सुन्तलाको बगैचाबाट कलमी र विजु गरी दुई थरीका बेर्ना हुर्काउदै आउनुभएका कोइराला सुन्तला विरुवा उत्पादन गर्ने नमुना किसान हुन । सुन्तलाको कलमीलाई प्रतिविरुवा ४५ र विजुलाई २६ रुपैयाँमा घरबाट नै निकासी हुँदै आएको छ ।

जंगली सुन्तलाको वीउ काठमाण्डौबाट ल्याएर १५ किलोको ब्याड प्रत्येक वर्ष राख्नुहुन्छ । एक किलो सुन्तलाको वीउलाई एक हजार पैसा लाग्न उहाँले बताउनुभयो । एक किलो वीउबाट ३ हजार भन्दा बढी सुन्तलाको बेर्ना हुर्काउन सकिन्छ । सुन्तलाको बीउलार्ई कार्तिक मंसिरमा ब्याड राख्ने, ब्याडमा हुर्किएका सुन्तलाका विरुवाहरुलाई असार महिनामा प्लाष्टिकका ब्यागमा सार्ने काम हुन्छ ।

मिनबाट प्लास्टिकमा सारिएका जंगली सुन्तलाका विरुवामा स्थानीय सुन्तलाको कलमी गर्नुपर्ने कोइरालाको भनाई छ । कलमी गरिएका विरुवालाई चार महिनासम्म हावा, पानीबाट जोगाउनका लागि प्लाष्टिकको घरमा हुर्काइन्छ ।  सुन्दर तथा हराबरा सुन्तलाको बगैचाले कृषि पर्यटनको आकर्षकको थलो बनेको छ । स्थानीयबासिन्दा प्रदिप पोखरेललका अनुसार गत आवमा एक करोड भन्दा बढीको सुन्तला फल वर्सेनि जिल्ला बाहिर निकासी हुँदै छ । यस वडामा ५० भन्दा बढीले व्यवसायिक सुन्तला खेती गर्दै आएको अर्का स्थानीयबासिन्दा नित्यानन्द पोखरेलले बताउनुभयो ।