माछा मारेर जीवीकोपार्जन गर्दै कुमाल बस्ती

रामपुर

पाल्पा–बगनासकाली गाउपालिका–१, घोरबन्दाका कुमाल बस्ती अझै पनि माछा मारेर जीवीकोपार्जन गर्न बाध्य छन् ।

कुमाल समुदायको पुख्यौली पेसा रहेको माछा मार्ने र त्यही माछा बेचेर परिवारको गुजारा चलाउन अझै पनि बाध्य छन् । स्थानीयबासिन्दा सन्तबहादुर कुमालका अनुसार नजिकै रहेको तानसेन बजारमा समेत मजदुरी गरी जीवीकोपार्जनका लागि जान बाध्य रहेपनि पछिल्ला वर्ष ज्याला मजदुरी गर्न पाइन छाडेको छ ।

“खोलामा माछा मार्ने सिप छ, अरु सिप नै छैन, कहिले दुई तिन सय कमाइ हुन्छ, कहिले कमाई नै हुदैन” कुमालले भन्नुभयो । सदरमुकाम तानसेनदेखि नजिकै रहेपनि शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत तथा रोजगारका अवसरमा पहुँच बाहिर रहेको कुमाल बस्ती अझै पाँच घरपरिवार माडीको खोलामा माछा मारेर नै जीवीकोपार्जन गर्न जुटेका छन् । दलबहादुर, सन्तबहादुर, गिरबहादुर, बङ्गले र सन्तबहादुरको परिवार खोलामा नै दिनभर माछा मार्नका लागि दिनभर नै विताउछन् ।

पछिल्ला वर्ष खोलामा पानीको सुकेपछि माछा हराउन थालेको र पहिला जस्तो खोलामा माछा प्रशस्त पाइन छोडेकोमा कुमाल समुदाय चिन्तित छ । कुमाल समुदाय बाहेक अन्य समुदाय समेत फुर्सुदको समयमा माछा मार्दा विषादीको प्रयोग गरेकाले माछा हराउन थालेको दलबहादुर कुमालले बताउनुभयो ।

खोलामा पानीको सतह सकेर माछा पाइन छोडठेपछि यहाँका कुमाल बस्तीको जीवीकोपार्जनका लागि मुख्य पेसा संकटमा पर्ने खतरा बढेको हो । खोलामा माछा मार्दा प्रहरीले आफुहरुलाई लैजाने गरेको समेत दुखेसो उनीहरुको रहेको छ । विद्युतीय साहायतामा माछा मार्दा प्रहरीले पक्राउ गरेकोमा उनीहरु दुखित छन् ।

जिल्लाको रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, माथागढी गाउपालिका, रामपुर र तानसेन नगरपालिका लगायतका स्थानमा कुमाल समुदायको बाक्लो बस्ती रहेको छ । पछिल्लो जनगणना २०६८ सालका अनुसार पाल्पामा कुमाल समुदायका ३ हजार ६ सय ९५ गरी कुल जनसंख्या ६ हजार ८ सय २ रहेको छ ।

स्थानीयबासिन्दा कान्छी कुमालले पहिला भोट माग्न घरमा आएपनि चुनाव जितेपछि गाउँमा कहिले पनि नआउने गरेको बताउनुभयो । चुनावमा भोट हालेपछि जित्नेहरु गाउँ नफर्किदा कुमाल बस्तीमा नेतृत्व गर्ने मान्छेको अभावमा खानेपानी देखि सडकसम्म आधारभुत विकास हुन सकेको छैन ।