नयाँ वर्ष सुरु भएलगत्तै ब्राजिलको कारागारमा अर्को ठूलो दङ्गा मच्चियो

तानसेन

एजेन्सी– ब्राजिलको मध्यपश्चिमी क्षेत्रमा रहेको एक कारागारमा बिहीबार दोस्रोपटक दङ्गा भएको छ । सन् २०१८ को सुरुपछि यसप्रकार जेलभित्र दङ्गा सुरु भएको यो दोस्रो पटक हो । अधिकारीहरुका अनुसार यस दङ्गाको क्रममा एकजना कैदीले भाग्ने मौका पाएका थिए तर उनलाई पनि पुनः कब्जामा लिइएको जनाइएको छ ।

यस दङ्गामा कुनै व्यक्ति हताहत भने नभएको बताइएको छ । ब्राजिलको दोस्रो ठूलो सहर आपारेसिदा डे गैआनियामा यो दङ्गा सुरु भएको थियो । यसअघि पनि नयाँ बर्षको दिनमा उक्त कारागारमा कैदीहरुबीच दङ्गा भएको थियो । यसमा परी १४ व्यक्ति घाइते भएका थिए ।

ब्राजिलका जेलभित्र यस्ता हत्या हिंसाको घटना बारम्बार हुने गरेको पाइन्छ । सन् २०१७ को जनवरीमा कारागारमा भएको यस्तो दङ्गामा परी एक व्यक्तिको मृत्यु भएको थियो ।