तिनाउ गाउपालीकामा डढेलो नियन्त्रणका लागि वृहत आमसभा

तानसेन मुख्य समाचार राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा, ७ चैत ।
गर्मी मौसम सुरु भए लगतै वनमा आगलागिका घटना हुँन नदिन पाल्पाको तिनाउमा वृहत सचेतनामूलक कार्यक्रम गरिएको छ । ८७ वटा सामुदायिक वनहरु रहेको तिनाउमा सामुदायिक वन समन्वय समितिले शनिबार आयोजना गरेको कार्यक्रममा सरोकारवाला सबैले वनमा डढेलो लाग्न नदिने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । उहाँहरुले विभिन्न सचेतनामूलक नारा लेखेका ब्यानरसहित र्याली पनि गर्नु भएको थियो ।
र्यालीपछि आयोजित वृहत आमसभालाई सम्बोधन गर्दै प्रदेश सांसद तुलाराम घर्ती (बसन्त) ले वन र वातावरण जोगाउन तीनै तहका सरकारले समन्वय गरेर कार्यक्रमहरु बनाउनुपर्ने बताउनु भयो । वन बिनासले हुँने खतरा औंल्याउँदै सामुदायिक वनले जनताको आयस्रोतमा सघाएको चर्चा गर्नु भयो । तिनाउको दोभानदेखि बुटवलसम्मको बाटोमा यात्रा गर्न असहज हुने गरी वातावरणीय प्रदुषण बढेकाले यस मोटरबाटोको वैकल्पिक उपाय खोजिनुपर्ने पनि उहाँले बताउनु भयो । यहाँ संचालित टिप्परहरुलाई बैकल्पिक बाटो बनाइदिएर यात्रुवहाक सवारी मात्र यस रुटमा चलाउनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले डढेलो नियन्त्रणका लागि सबै सरोकारवाला चनाखो हुनुपर्ने भन्दै वनलाई वन जोगिए मात्र वातावरण जोगिने उल्लेख गर्नुभयो । तिनाउँ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले वन र वातावरण जोगाउन स्थानीय सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभयो । जनचेतना जगाउन सके आगलागीका घटना न्यूनीकरण गर्न सकिने उहाँको भनाई छ ।
कार्यक्रममा स्थानीय विकास अधिकारी ध्रुव कुँवर, तिनाउ गाउँपालिका उपाध्यक्ष दमन्ती थापा, प्रवक्ता राजेश श्रेष्ठ, नेकपा एमालेका प्रेम श्रेष्ठ, नेपाली काँग्रेसका लालबहादुर थापा, माओवादी केन्द्रका चक्रब्ह्यु थापा, अधिवक्ता महेन्द्र पाण्डे, समन्वय समितिका वरिष्ठ उपाध्यक्ष डीबी गुरुङ, सचिव दिनेश जीसी, बिमल पौडेल लगायतले बोल्दै बनमा डढेलो लाग्न नदिन र वनको विकासको लागि एकताबद्ध भएर काम गर्न सबैमा आग्रह गर्नुभयो । कार्यक्रम सामुदायिक वन समन्वय समितिका संयोजक पदमलाल शाक्यको अध्यक्षतामा भएको हो । कार्यक्रममा विभिन्न जनचेतनामूलक सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।