रिब्दीकोटको फेकमा प्रसुतीगृह संचालन

मुख्य समाचार राष्ट्रिय रिव्दीकोट समाचार
सेयर गर्नुहोस

पाल्पा । रिब्दीकोट ८ फेकमा प्रसुतीगृहको सुरुवात भएको छ । विहीवार एक कार्यक्रमको आयोजना गरी प्रसुती गृहको सुरुवात भएको हो । प्रसुतीगृहको उद्घाटन गर्दै रिब्दीकोट गाउँपालिका पाल्पाका अध्यक्ष नारायण जिसीले स्थानीय सरकार गठन पछी जनताको स्वास्थ्यमा पँहुच पुर्याउन लागि परेको बताउनुभयो । उहाँले दुरदराजका जनतालाई सर्वसुलभ स्वास्थ्य उपचार दिलाउन गाउँपालिकाले विशेष पहल गरेको बताउनुभयो ।


रिब्दीकोट गाउँपालिका, नेपाल रेडक्रस सोसायटी र वडा कार्यालयको सहयोगमा बनेको प्रसुतीगृहमा आधुनिक प्रविधिबाट प्रसुती गराउने व्यवस्था गरिएको छ । स्वास्थ्य सस्थामै सुत्केरी गराउने सरकारको योजना अनुसार लुम्बिनी प्रदेश सरकारले सहयोग गरेको बताइएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसायटीका कार्यक्रम अधिकृत विनोद भारतीले सर्वसुलभ र सहज प्रसुती गराई जनताको सेवामा काम गर्न रेडक्रसले सहयोग गर्दै आएको बताउनुभयो । रिब्दीकोट गाउँपालिकाका स्वास्थ्य संयोजक सुनिल अधिकारीले रिब्दीकोट गाउँपालिकामा ५ वटा वर्थिङ सेन्टर संचालनमा आएको स्मरण गराउदैं, रिब्दीकोट गाउँपालिका स्वास्थ्य क्षेत्रमा अग्रसर रहेको बताउनुभयो । तानसेन सदरमुकामबाट २८ किलोमिटर टाढा रहेको फेकमा प्रसुती गृह संचालनमा आएपछी प्रसुतीका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ । फेक रिब्दीकोट गाउँपालिकाको सबैभन्दा दुर्गम मानिन्छ ।