किसानका समस्या बुझ्न जनप्रतिनिधीहरु च्याउ पकेट क्षेत्रमा

तिनाउ राष्ट्रिय समाचार
सेयर गर्नुहोस

विष्णु घिमिरे
पाल्पा
तिनाउ गाउपालिका वडा नं. ३  च्याउ पकेट क्षेत्र हो । यहाँका १७, १८ घरहरुमा व्यवसायिक च्याउ खेती हुदै आएको छ । यहाँका प्रति घरमा ३ सय देखी 27 सय बल च्याउ खेती गरेका छन् । किसानका समस्या बुझ्न गाउपालिकाले स्थलगत अवलोकन गरेको छ । आइतवार तिनाउ ३ झुम्साका विभिन्न स्थानहरुमा च्याउघरहरुको स्थलगत अनुगमन गरेको हो ।
अनुगमनमा किसानहरुले आफ्ना समस्या जनप्रतिनिधिहरु संग राखेका छन् । च्याउ उत्पादन गर्दै आउनुभएकी अगुवा कृषक दिलमाया रोकाले विचौलियाका कारण राम्रो भाउ नपाएको गुनासो गर्नुभयो । च्याउ उत्पादन समूहकी अध्यक्ष नैना क्षेत्रीले जग्गाको लालपूर्जा नभएका कारण वीमा गर्न समस्या परेको बताउनुभयो । तिनाउ च्याउ पकेट कार्यक्रम अन्र्तगत १८ घरहरुमा अहिले व्यवसायिक च्याउ खेती भईरहेको छ । सिजनमा प्रत्येक दिन १ लाख बरावरको च्याउ बुटवलमा विक्री हुदै आएको समूहले जनाएको छ ।


अनुगमनमा तिनाउ गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा तिनाउमा च्याउ खेती गरेको बताउनुभयो । वडा नं. ३ का प्रत्येक घरहरुमा च्याउको व्यवसायिक खेती सुरु हुन लागेको बताउदै, यो क्षेत्रको आर्थिक उपार्जनको मुख्य आधार नै च्याउ गराउन गाउपालिका लागि परेको बताउनुभयो ।
प्रमुख प्रशाशकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले किसानका समस्या समाधानका लागि गाउपालिकाले सहययोग गर्ने बताउनुभयो । उहाँले कृषकहरुलाई च्याउको वीमा, भुसुनाले पारेको समस्या समाधानमा गाउपालिकाको ध्यान गएको बताउनुभयो ।
वडा नं. ३ का वडा अध्यक्ष प्रेम प्रसाद पाण्डेयले छितरिएर गरिएको व्यवसायलाई गाउपालिका तथा वडाले ठाउँको व्यवस्थापन गरी एकिकृत च्याउखेती गर्नुपर्नेमा जोड दिनुभयो ।