बाँझिएको जमिन हराभरा बनाउदैं युवाहरु

राष्ट्रिय वगनासकाली समाचार
सेयर गर्नुहोस

विष्णु घिमिरे
पाल्पा १४, कार्तिक ०७७
वगनासकाली गाउँपालिका ६ यम्घाका ४ युवाहरुले वाँझिएको जमिन हराभरा बनाएका छन् । लाम्दीकोे गोदीमा ५ सय रोपनी जग्गामा वाख्रा, भैसी, कुखुरा तथा कृषि काम गरेर उनीहरुले बाँझो जमिनलाई हराभरा बनाएका हुन् । यम्घाका तेजराज बस्याल, डोलराज बस्याल, रामचन्द्र बस्यालले वगनासकाली जागरुक कृषि तथा पशु विकाश फर्म संचालन गरिरहेका छन् । ५०० रोपनी वाँझीएको जमिन १० वर्षको लागि लिजमा लिएर उनीहरुले कृर्षि तथा पशुपालन गरेका छन् । फर्ममा अहिले १ सय १० वटा लोकल जातका वाख्रा, ९ वटा पाडापाडी, गाई, भैसी, र कुखुरा पालेका छन् । त्यसैगरी धान तथा अन्नवाली लगाएर वाँझो जमिन हराभरा बनाएका हुन् ।

बगनासकाली ६ यम्घाका तेजराज बस्याल स्नातक तह अध्ययन गर्दा गर्दै आर्थिक अवस्था कमजोर भएर दुवै जानुभएको थियो, दुवैबाट फर्केपछीे बुटवलमा होटल गरेपनी धेरै लगानी गर्न नसकेपछी कृषिमा लाग्नुभयो । उहाँ भन्नुहुन्छ, “२ वर्ष अघीदेखी जग्गा लिजमा लिएर अन्नवाली लगाएका थियौं, गएको चैत्रदेखी बाख्रा तथा पाडापाडी पाल्न थालेका हौं । ” २५ लाखको लगानीमा ४ जना मिलेर संचालन गरेको फर्ममा अहिले २ जना मासिक कामदार र केही दैनिक ज्यालादारीमा काम गर्नेहरु छन् । “संरचना १ वर्ष अघी देखी बनाउन थालेका हौं, वाख्रा चाही लकडाउन सुरु भएपछी मात्रै पाल्न थालेका हौं, संचालक डोलराज बस्याल बताउनुहुन्छ । ”

विदेश गएर ५,६ वर्ष बसेर फर्केका युवाहरु कृषि क्षेत्रमा रुची भएकोले फर्म संचालन गरेको बताउछन् । बस्याल भन्नुहुन्छ, “अनुभव पनि ठूलो कुरा हो, पैसा मात्रै सवैथोक होइन ।, यो ठाउँ सबैले छोड्दै गए, कोही बुटवल कोही तानसेन गए । बाझो जमिन खन्ने कोही भएनन्, ।”
बाख्रा र भैसी पालन गर्ने योजनाले फर्म सुरु गरेपनि यातायातको समस्याले मासुजन्य पशुपालन गरेको उनीहरु बताउछन् । डोलराज बस्याल भन्नुहुन्छ, “सुरुमा दुध विक्री गर्ने योजना थियो, बाटो नभएपछी मासु उत्पादन गर्न पाडापाडी पाल्न थाल्यौ,। ”


वगनासकाली गाउपालिका बाट शैक्षिक प्रमाणपत्र धितो राखी १ लाख रुपैया लिएर, व्यवसाय थालेका युवाहरु ४० वटा भैंसी पाल्न मिल्ने गोठ समेत बनाउन थालेका छन् । वगनासकाली गाउँपालिकाले कृषि र पशुपालनलाई मुख्य आम्दानीको स्रोतको रुपमा अगाडी बढाएको छ । स्थानीय तहको निर्वाचन लगत्तै शैक्षिक वेरोजगार युवालाई प्रमाणपत्र धितो राखेर ऋण दिन सुरु गरेको थियो । वगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल भन्नुहुन्छ, “गाउपालिकाको मुख्य आधार भनेको कृषि र पशु हो, यो क्षेत्रमा काम गर्नेहरुलाई गाउपालिकाले सहयोग गर्दै आएको छ । ”

भिडियो