विदेश जान मेनपावरमा पासपोर्ट बुझाएर सामुहिक कृषि खेतिमा

राष्ट्रिय वगनासकाली

पाल्पा ०१ कार्तिक ०७७
कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा जान नपाएपछी वगनासकाली ६ यम्घा भुटुकेका ५ जना युवाहरुले सामुहिक कृषि खेती सुरु गरेका छन् । प्रदेश सरकारको कोभिड कृषि कार्यक्रमको सहयोगमा युवाहरु सामुहिक कृषि खेतीमा लागेका हुन् ।
यम्घा भुटुकेका वेनीराम वि.क.टीका बहादुर विक., वीर बहादुर वि.क., ऋषि वि.क. र विक्रम लामिछाने वैदेशिक रोजगारीका लागि कुवेत जान लाग्नुभएको थियो । गत चैत्रमा मेडिकल र इन्टरभ्यू सक्याएका ५ जनानै कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनले विदेश जान पाएका थिएनन् । वगनासकाली गाउपालिकाबाट कोभिड कृषि कार्यक्रमको १ लाख सहयोग लिएर कृषिमा लागेका हुन् ।
उनीहरुले १४ रोपनी जग्गा वार्षिक १२ हजार रुपैया भाडामा लिएर कृषि खेती गरेका छन् । टमाटर, खुर्सानी, भिण्डी, वोडा लगायतका उपजहरु लगाएर ३५ हजार मुनाफा गरेको वेनिराम वि.क. बताउनुहुन्छ । यम्घा भुटुकेका ३४ वर्षिय वेनीराम र साथीहरुले अहिले फर्ममा खुर्सानी, टमाटर लगाउनुभएको छ, उनीहरु मल्चिङ पलास्टीको प्रयोग गरेर वोडी समेत लगाएका छन् ।
५ जनानै अव विदेश नजाने सोचमा छन् । उनीहरु कृषिमै रमाउन थालेका छन् । घरभन्दा तलको फाँटमा कृषि कर्म गरिरहेका उनीहरुलाई पानीको लागि समस्या छ, फाँट माथीको पानीको मूल हिँउदमा सुक्छ, खोलाको पानी तानेर खेतमा ल्याउने सोचमा रहेको वेनीराम वि.क. बताउउनुहुन्छ । पानीको समस्या समाधानका लागि वडाबाट पहल गरिएको वगनासकाली गाउपालिकाका प्रवत्ता तथा वडा अध्यक्ष लक्ष्मी अधिकारी बताउनुहुन्छ ।
उनीहरु मध्ये १ जना साउदी र वाँकी ४ जनानै मलेशियाबाट फर्केका युवाहरु हुन् । विदेशको दुःख वेहोरिसकेका युवाहरु आफ्नै गाउँमा उद्यम गर्न चाहेका छन् । उनीहरु फाँटमै एउटा टहरो वनाएर आलोपालो बस्नेगरेका छन् ।

भिडियो रिपोर्ट:-