भैरवस्थान मन्दिर स्वास्थ्य मापदण्ड पालना गर्दै खुला गरियो

तानसेन राष्ट्रिय रिव्दीकोट समाचार

विष्णु घिमिरे
पाल्पा २९ असोज, ०७७
पाल्पाको भैरवस्थान मन्दिरमा दर्शन गर्न खुला गरिएको छ । कोरोनाका कारण लामो समयदेखी बन्द रहेको मन्दिर स्वास्थ्य मापदण्ड पालना गरी खुला गरिएको छ । तानसेनका आर्दश श्रेष्ठ विहीवार भैरवस्थान मन्दिरमा पुजा गर्न जादा ढोकामै सेनिटाइजर लगाएर र ज्वरो नापेर मात्र पुजा गर्न पाउनुभयो । उहाँलाई अचम्म त लाग्यो नै, स्वास्थ्य मापदण्ड अपनाउदा खुसी पनि लाग्यो । भैरवस्थान मन्दिरमा अहिले पुजाआजा गर्न जाने भक्तजनहरुको ज्वरो नापेर र सेनिटाइजर लगाएर मात्र पुजा गर्न खोलिएको छ ।
कोरोना भाइरस संक्रमणका कारण सरकारले गत चैत्र महिनादेखी लकडाउन गरेसंगै मठमन्दिरहरुमा पुजा आजा गर्न पनि रोकिएको थियो । अहिले स्थानीय सरकार संगको समन्वयमा भैरवस्थान मन्दिरमा पुजाआजा खोलिएको छ । मन्दिरमा आउने भक्तजनहरुको मूल गेटमै नाम दर्ता र ज्वरो नापेर प्रवेश दिने गरिएको छ ।
विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्ड अपनाएर पुजा गर्ने व्यवस्था मन्दिर व्यवस्थापन समितिले मिलाएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारीका अनुसार अनिवार्य मास्क लगाएर, दुरी कायम गर्दै दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
भैरवस्थान मन्दिरमा शनिवार र मंगलवार विशेष पुजाआजा हुदै आएको छ । यी दिनहरुमा दैनिक ३ सय सम्म भक्तजनहरु आउनेगरेका छन् भने अरु दिन दैनिक १ सय ५० जना सम्म पुजा आजा गर्न आउने गरेको बताइएको छ ।

Tagged