पाल्पाका चिदीको पहिलो गीत सार्वजनिक

राष्ट्रिय वगनासकाली समाचार

पाल्पा १६ असोज : सानैदेखि गायनमा रुचि भएका यमराज चिदीले आफ्नो पहिलो सांगीतिक कोशेली सार्वजनिक गरेका छन् । पाल्पा जिल्ला बगनासकाली –९ चापपानीका यमराजले हालैमात्र ‘मेरो माया’ बोलको पप गीत सार्वजनिक गरेका हुन् ।

उनी सानैदेखि गीत सुन्थे, गुनगुनाउँथे । हालै सार्वजनिक गीत पनि चिदीले ६ वर्षअघि लेखेका थिए । तर, रेकर्ड गर्ने मौका पाएका थिएनन् । उनका अनुसार, आफूमा पहिल्यैदेखि विदेश जान्छु र आएपछि मात्र गीत रेकर्ड गर्छु भन्ने सोँच थियो । चिदी विदेश गए, केही समय विताए । र, चार वर्षअघि घर फर्किए । उनले भने, -‘विदेशबाट फर्किसकेपछि पनि विभिन्न कारण तत्काल रेकर्ड गर्न सकिन् । अहिले भिडियोसहित गीत सार्वजनिक गरेको छु ।’ अहिले उनि वेद माध्यमिक विद्यालयमा शिक्षण पेशामा आबद्ध छन् ।

हालै सार्वजनिक गीतमा उनको शब्द, संगीत र स्वर छ । अभिनय लक्ष्मण सिंजाली र सरिष्मा सूर्यवंशीले गरेका छन् । उनले यो गीतको अडियो तथा भिडियो पाल्पामै निर्माण गरेका हुन् । सुसाइड प्वाइन्ट, बतासे, श्रीनगर लगायतका स्थानमा छायाँकन गरिएको भिडियोलाई सुरज केसीले छायाँकनसंगै सम्पादन गरेका हुन् । भिडियो म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

चिदीले आउँदा दिनमा पनि नयाँ गीत ल्याउने बताएका छन् । ‘पहिलो गीत ल्याएपछि धेरैले हौसला दिनुभएको छ । विद्यालयमा आवद्ध रहेपनि आगामी दिनमा अन्य गीतहरु पनि ल्याउने सोँचेको छु’–उनले भने ।

भिडियो :

Tagged