बगनासकालीमा किसानको दुध किन्न सहकारीद्धारा डेरी संचालन

राष्ट्रिय वगनासकाली

पाल्पा १५ असोज
विपी घिमिरे
बगनासकाली बहुउदेश्यीय सहकारी संस्थाले किसानहरुको दुध किन्न थालेको छ । सहकारीले बगनासकाली ८ बराङ्दीमा संकलन केन्द्र र तानसेनबाट विक्री हुनेगरी दुध डेरी संचालनमा ल्याएपछी दुध किन्न थालेको हो ।
विहीवार बराङ्दीमा एक कार्यक्रमको आयोजना गरी दुध संकलन गर्ने डेरीको उद्घाटन गरिएको छ । दुध डेरीको उद्घाटन गर्दै नेकपाका केन्द्रिय सदस्य ठाकुर प्रसाद गैरेले सरकारले कृषी पेषालाई मर्याधित र नाफामूलक बनाउने उदेश्यले संरक्षित कृषी, सुनिश्चित बचत कार्यक्रम सुरु गरेको बताउनुभयो । गैरेले “सरकारले खाद्य बस्तुमा आत्मनिर्भर बनाउन र स्वदेशमै स्वरोजगारको सृजन ागर्न कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको ।” बताउनुभयो ।
बगनासकाली बहुउदेश्यीय सहकारी संस्थाले संचालन गरेको डेरीमा विहीवार ८७ लिटर दुध संकलन भएको थियो, संकलित दुधलाई तानसेन नारायणस्थानबाट वजार क्षेत्रमा विक्री वितरण गर्ने व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष कृष्ण प्रसाद भुसालले जानकारी दिनुभयो । प्रदेश सरकार संगको साझेदारीमा सहकारीले भैसी पालन पकेट क्षेत्रको रुपमा काम गर्दै आएको छ । पहिलो चरणमा सहकारीका ५० जना कृषकहरुलाई गोठ, भकारो सुधार कार्यक्रममा सहयोग, घाँस काट्ने मेसिन, पानी ट्याङकी तथा दुध संकलन गर्ने भाडाहरु पनि सहयोग गरिएको सस्थाका सचिव कमलराज तिमिल्सेनाले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा वोल्दै बगनासकाली ८ नंं वडाका अध्यक्ष गणेश प्रसाद बस्यालले कृषकहरुबाट उत्पादीत दुध वजार सम्म पुरयाउने काम सहकारीले गर्नु प्रशंसनिय भएको बताउदै सदस्यहरुको आम्दानी र नाफामुखी थप कामहरु गर्न सुझाव दिनुभयो । जिल्ला सहकारी संघका भूपती पाण्डेले कृषकहरुको उत्पादीत दुध वजार पुर्याउन ग्यारेन्टी गरिएको बताउदै धेरै भन्दा गुणस्तरीय दुध उत्पादनमा कृषकहरु लाग्नुपर्ने बताउनुभयो । सहकारीका पूर्व व्यवस्थापक रवीलाल तिमिल्सेनाले विगतमा पनि यो क्षेत्रमा दुध डेरी संचालन भएपनी कृषकहरुबाट दुध नआएपछी बन्द भएको स्मरण गर्दै, भैसी पाल्न र दुध वेच्न कन्जुस्याई गर्न नहुने बताउनुभयो ।


सहकारीका बरिष्ठ उपाध्यक्ष मोतिलाल बस्यालले कृषकहरुको उत्पादनलाई नाफामूलक गराउन सहकारीले गोठ, भकारो सुधार तथा अन्य सामाग्रीमा सहयोग गरेको धारणा राख्नुभयो ।
सस्थाका सचिव कमलराज तिमिल्सेनाको संचालनमा भएको कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष कृष्ण प्रसाद भुसालले गर्नुभएको थियो । गत वर्ष पाल्पाको उत्तरी क्षेत्रका ४ वटा सहकारीहरु मर्ज भई एउटै सहकारी बनेको थियो । विगतमा पैसा बचत गर्न र ऋण दिने काममा मात्र सिमित हुने सहकारीहरु मर्ज पछी किसानलाई आम्दानीको बाटो तर्फ लगाउन थालेका हुन् ।