पिसिआर मेसिन जडानमा भएको ढिलाइ प्रति सरोकारवालाको चासो

तानसेन राष्ट्रिय समाचार

पाल्पा १० असोज
पाल्पामा संचालन गर्न लागिएको पिसिआर मेसिन जडानमा भएको ढिलाईबारे सरोकारवालाको चासो वढ्न थालेको छ । तानसेन नगरपालिकाको काजिपौवा स्थित जिल्ला समन्वय समितिको नया भवनमा पिसिआर मेसिन राख्न काम भइरहेको हो ।
शनिवार संघिय सांसद, प्रदेश सांसद, अन्य जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी सहितको टोलीले मेसिन जडानका लागि भएका कामहरुको अवलोकन गरेको हो । पिसिआर मेसिन जडानका लागि भौतिक संरचनाका कामहरु भएपनि विद्युत्त समस्याले ढिलाइ भएको स्वास्थ्य कार्यालय पाल्पाका प्राविधिक मधुसुदन भट्टराईले जानकारी गराउनुभयो ।
एक महिनादेखी विद्युत्तको लागि पहल गर्दा समेत विद्युत्त प्राधिकरण पाल्पाले काम नगरेका कारण पिसिआर मेसिन जडान हुन नसकेको पाल्पा अस्पतालका अध्यक्ष नेत्र प्रसाद पाण्डेले बताउनुभयो । “एक महिनादेखी विद्युत्तको लागि भनिरहेका छौं, तार तान्ने काम समेत भ्याएको छैन, विद्युत्त आउदाको ३ दिन भित्र रातदिन नभनेर काम सक्छौ ।” अध्यक्ष पाण्डे भन्नुहुन्छ ।
गत भदौको अन्तिम साता पाल्पामा पिसिआर मेसिन आएको थियो । संघिय सांसद सोम प्रसाद पाण्डेले पिसिआर किट, भिटिएम लगायतका सवै सामाग्रीहरु आइसकेको जानकारी दिनुभयो । “अहिले करिव २० लाखका स्वास्थ्य परिक्षण समाग्री लिएर आएको छु, यसले करिव १ महिना पिसिआर परिक्षण गर्न सकिन्छ तर मेसिन छिटो जडान हुनुपरो सांसद पाण्डेको भनाइ छ ।” सांसद पाण्डेले जनशक्ति र सामाग्रीले रोकिनु नपर्दा पनि विद्युत्तको कारण ढिलाइ हुनु राम्रो नभएको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत विद्युत्तको काम हुनुपर्ने बताउनुभयो ।
विश्वभर कोरोना संक्रमण बढ्दै गएपछी पाल्पा अस्पतालमा पनि पिसिआर परिक्षण गर्न स्वास्थ्य मन्त्रालयले निर्णय गरेको थियो, लगत्तै मेसिन खरिदका लागि १ करोड निकासा भएको थियो । पिसिआर मेसिन तथा अन्य आवश्यक उपकरण तथा जनशक्ति पनि आइसकेको छ । प्रदेश सांसद नारायण प्रसाद आचार्यले पिसिआर परीक्षणको प्रदेश र केन्द्र सरकारबाट सहयोग भइरहेको जानकारी दिनुभयो ।