अविरल वर्षाले तिनाउका विभिन्न स्थानहरुमा क्षती

तिनाउ राष्ट्रिय समाचार

पाल्पा १० असोज

४ दिन सम्मको अविरल बर्षाले तिनाउ गाउपालिकाका विभिन्न स्थानहरुमा क्षती पुरयाएको छ । दोभानको घोडेबाँस गाउँमा माथिबाट खसेको पहिरोले टिकाराम खरेल, यज्ञ खरेल र नारायण खरेलको घरमा क्षति पुगेको छ । भुतखोला भुजेल बस्तीमा पहिरो जादा भिम बहादुर थापाको घर पुरिएको छ । त्यसैगरी झुम्सा अर्घाछापको लिल बहादुर थापाको घर तथा च्याउ फर्ममा पहिरोले क्षति पुग्याएको छ । त्यसैगरी हरियाली गाउँको बसन्त थापाको घर पनि भत्किएको छ ।

दोभान चौकी नजिकैको अमर प्रधान र राज बहादुर श्रेष्ठको घर तलबाट पहिरोले तानेर जोखिममा परेको छ । मस्यामको चित्र रावलको उन्नत जातको ४ वटा बाख्रा तथा सौचालय पहिरोले पुरेको छ । पाटनमा पनि २ वटा घर भत्किएको छ । कोलडाडाबाट चरचरे सम्म कृषि सामाग्री ढुवानी गर्ने २ वटा टुइनको स्टेशनमा पनि पहिरोले क्षति पुग्याएको छ । यसै विच शनिवार गाउपालिककाका अध्यक्ष ओम बहादुर घर्ती सहितको जनप्रतिनिधिहरुको टोलीले गाउपालिकाका क्षतीग्रस्त स्थानको अवलोकन गरेको छ ।

पहिराले क्षतिग्रस्त स्थानहरूमा जनप्रतिनिधिहरूको समन्वय र स्थानीयहरुको सहयोगमा उद्वारको काम भइरहेको गाउपालिका अध्यक्ष ओम वहादुर घर्तीले पाल्पापाटीलाई बताउनुभएको छ । यसैविच तानसेन बुटवल सडकखण्डका विभिन्न स्थानहरुमा पहिरो गएका कारण बाटो अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेपनि सडक संचालन हुन भने सकेको छैन् ।