पाल्पा रम्भाको पहिरोमा हराएका एकै परिवारका ५ जनाको शव भेटियो

रम्भा राष्ट्रिय समाचार

पाल्पा १० असोज

पाल्पा जिल्लाको रम्भा गाउपालिका २ बेलौजामा गएको पहिरोमा परी हराइरहेका ५ जनाकै शव प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार वेलौजाका १७ वर्षिय कृष्ण माया गाहा

सोही ठाउँका १४ बर्षिय खुमिसरा आले, ८ बर्षिय लक्ष्मि गाहा, ६० बर्षिय हुम बहादुर गाहा, र ५० बर्षिय धनिसरा गाहाको शव भेटिएको हो । बिहीबार बिहान पहिरोले घर पुरिँदा एकै परिवारका पाँच बेपत्ता थिए । हुमबहादुर र धनीसराको शव बेलुका अबेरमात्र निकालिएको हो । ‘पहिरो ठूलो भएकाले पन्छाउन धेरै समस्या भएको थियो।
सडक अवरुद्ध भएकाले पहिरोमा पुरिएकाको उद्धार गर्न टोली अलि ढिला पुगेको थियो । ताँहुबाट दुई घण्टा हिँडेर टोली घटनास्थल फोक्सिङकोट पुगेपछि शुक्रबार बिहानै खोजी कार्य सुरु भएको थियो । पहिरोमा पुरिएकाको नेपाली सेना, प्रहरी बल, स्थानीय बासिन्दाले खोजी गरेका हुन् । पाँचै जनाको शव पोस्टमार्टमका लागि ताँहुसम्म ल्याइएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो। ताँहुको प्राथमिक स्वास्थ्य केन्द्रमा शव पोस्टमार्टम गर्न तानसेनबाट चिकित्सक पुगेका छन् । प्रदेश सांसद नारायणप्रसाद आचार्यले पहिरो खसेको स्थानमा प्राविधिक लगेर बस्तीका विषयमा अध्ययन गरिने बताउनुभयो।