पाल्पा रम्भाको पहिरोमा १ को शव फेला, ५ अझै वेपत्ता

रम्भा राष्ट्रिय समाचार

पाल्पा ८ असोज
पाल्पाको रम्भा गाउपालिका २ फोक्सिङकोटमा पहिरोले पुरिएर बेपत्ता भएका मध्ये एक जनाको शव फेला परेको छ । रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित सुरुङडाडाकी २७ वर्षीया मोतिसरा गाहाको शव फेला परेको हो ।

प्रहरीका अनुसार सोही वडाको बेलौजाका हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिएको थियो । पहिरोले घर पुरिँदा ६० वर्षीय हुमबहादुर गाहा उनकी श्रीमती ५० वर्षीया धनिसरा गाहा, छोरी १७ वर्षीया कृष्णमाया गाहा, मामाघर आएकी नातिनी १४ वर्षीया र मनबहादुरकी नातिनी ८ वर्षीया लक्ष्मी गाहा बेपत्ता भएका छन् । यो समाचार तयार पार्दासम्म उनीहरुको खोजी कार्य जारी रहेको छ ।
बिहान करिब ४ बजे पहिरोले पुरिएका हुन् । तीन दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिरोमा उनीहरू पुरिएका हुन् ।

अहिले घटना स्थलमा सुरक्षाकर्मी र स्थानीयले उद्धार गरिरहेका छन् । घटनास्थल सदरमुकामभन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न र उद्धारमा ढिलाइ भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

तस्विरः पाल्पा समाचारपत्रबाट