बगनासकाली ७ खानीगाउँमा घर भत्किदा एक जनाको ज्यान गयो

राष्ट्रिय वगनासकाली समाचार

२५ भदौ, २०७७

पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका वडा नं. ७ खानीगाउँमा घर भत्किएर पुरिँदा एक जनाको ज्यान गएको छ।  ज्यान जानेमा स्थानीय २२ वर्षीय सुमन कनौजे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताउनुभयो। सुतिरहेको अवस्थामा  एक्कासी घर भत्किँदा बुधबार राति ११ बजे उनी घाइते भएका थिए। उनलाई पुरिएको अवस्थामा स्थानीयले उद्वार गरेका थिए। उपचारको लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल ल्याउँदा बिहिबार विहान ज्यान गएको थियो।  घर भत्किएर २ वटा भैँसी समेत पुरिएको स्थानीयले बताएका छन्। लगातारको वर्षातले यसअघि नै घर चर्किएको थियो। गएराति परेको वर्षाले घर भत्किएको हो। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।