तिनाउको टोलबस्तीमा कोरोना परीक्षणको लागि स्वाव संकलन

तिनाउ राष्ट्रिय समाचार

पाल्पा २७ साउन
तिनाउ गाउपालिकाका विभिन्न स्थानहरुबाट कोरोना परीक्षणको लागि स्वाव संकलन गरिएको छ । गाउपालिकाको वडा न ६ डुम्रे दुग्ध उत्पादन सहकारीका कर्मचारीहरू, वडा न ५ का चरचरे, जोरधारा र केराबारीका वजार क्षेत्रहरुबाट ३० जनाको स्वाव संकलन गरिएको हो ।
संकलित स्वावलाई परीक्षणको लागि पठाइएको र अन्य स्थानबाट समेत स्वाव संकलन गरि परिक्षणको लागि पठाउने स्वास्थ शाखा इन्चार्ज कृष्ण कार्कीले बताउनु भयो । डुम्रे दुग्ध उत्पादन सहकारीका व्यवस्थापक गोपाल जिसी,चरचरेका स्थानीय व्यापारी विष्णु थापा र जोरधाराका प्रेम श्रेष्ठले गाउँपालिकाले समुदाय स्तरमा स्तरमा समेत कोरोना संक्रमण परिक्षण गरेकोमा खुशी व्यक्त गर्नुभयो । स्वाव संकलन नर्सिङ ईन्चार्ज रिता थापा र ल्याव असिस्टेन्ट बृद्वि गाहा गर्नु भएको थियो । तिनाउ गाउँपालिकाले यस अघि संभावित जोखिममा काम गरेका स्वास्थकर्मी,प्रहरी,कर्मचारी, जनप्रतिनिधि तथा क्वारेन्टाइनमा बसेका सबैको स्वाव परिक्षण गरेको थियो ।
तिनाउमा हालसम्म ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएकालाई तानसेनमा स्थापना गरिएको आइसोलेसनमा १५ दिनको परीक्षण पछी घर पठाइएको थियो । गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरका अनुसार तिनाउ गाउपालिकाले लकडाउनको अवधीमा नागरिकहरुलाई घरफिर्ता, क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थापन तथा स्वाव संकलनको काम गरिरहेको छ । आर्थिक वर्ष ०७७÷०७८ मा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको गाउपालिका अध्यक्ष ओम वहादुर घर्तीले पाल्पापाटीलाई बताउनुभयो ।