पाल्पामा ८७ प्रतिशत धानरोपण सकियो

राष्ट्रिय समाचार

पाल्पा, आइतबार ४ साउन

पाल्पामा वर्षे धान रोपण चलिरहेको छ । साउनको पहिलो हप्तासम्ममा ८७ प्रतिशत वर्षे धान रोपण भएको छ । कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार यो वर्ष समयमै मनसुन भएकोले धान रोपण उल्लेख्य भएको बताएको छ । कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव प्रसाद अर्यालका अनुसार ८७ प्रतिशत भन्दा बढी धान रोपण सकिएको छ ।


पाल्पा जिल्लामा ९ हजार ३ सय २५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ, जसमा ७ सय ८ हेक्टर चैते धान तथा ८ हजार ६ सय २० हेक्टर वर्षे धान रोपण हुने गरेको छ । पाल्पाका माडी फाँट, रामपुर फाँट, अर्गली फाँट, हेक्लाङ, हुँगी, अर्सेदी, पूर्वखोला, निस्दीको ढुङगानावेसी, झडेवा, कचल तथा झ्याङलामा धान खेती बढी हुने गरेको छ । गत वर्ष पाल्पामा ३४ हजार ४ सय १५ मेट्रिक टन धान उत्पादन भएको थियो ।