सिद्धार्थ राजमार्गमा अर्को पहिरो, यातायात सुचारु हुन सकेन

तानसेन तिनाउ राष्ट्रिय समाचार

पाल्पा आइतबार ४ श्रावण

सिद्धार्थ राजमार्गमा खसेको एउटा पहिरो पन्छाउन नसक्दै पुन अर्को पहिरो खसेको छ । आइतबार विहान तिनाउ गाउँपालिका दोभान बजारनजिक ठूलाठूला ढुंगासहित पहिरो खसेको छ ।राजमार्गअन्तर्गत तानसेन नगरपालिका–८, गौडेपुलनजिकै खसेको पहिरोका कारण तीन दिनदेखि अवरुद्ध सडकको पहिरो नहटाउँदै पुन राजमार्गमै अर्को पहिरो खसेको हो ।

दोभान पैठेडाँडा नजिक आइतबार फेरि बिहान ठूला ढुंगा सहितको पहिरो खसेको छ । राजमार्गको गौडेपुलनजिकै तीन दिनअघि खसेको पहिरो अझैसम्म पन्छाउन सकिएको छैन । सडक डिभिजनले दुवैतर्फबाट लोडर र एक्स्काभेटर लगाए पनि तीव्र गतिमा काम गर्न सकेको छैन ।

माथिल्लो भागबाट खस्न नरोकिएको र वर्षा भइरहेकाले पनि सडक खुलाउन नसकिएको प्रहरी चौकी प्रभासका प्रमुख एक्काबहादुर नेपालीले जानकारी दिनुभयो । सडक डिभिजनले समयमै लोडर, एक्स्काभेटर नपठाएको र भएको लोडरले पनि काम नगर्दा खुलाउन ढिलाइ भएको यात्रुको गुनासो छ । पहिरो ठूलो भएपनि सामान्य लोडरको प्रयोग गरी भारा टार्ने काम भएको यात्रुहरुको आरोप छ ।

तानसेनतर्फबाट गएका सवारी साधन डुम्रे, गौडेपुलनजिक रोकिएको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, प्रहरी उपरीक्षक दीपक खरेललगायतले पहिरो गएको स्थानको अवलोकन गरी छिटोभन्दा छिटो खुलाउने प्रयास गरिएको यात्रु र चालकलाई आश्वासन दिएर फर्केका थिए । तीन दिनदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु र सवारी साधनका चालकले सास्ती भोगेका छन् ।