आधुनिक भैसी पालनमा सहयोग गर्दै बगनासकाली बहुउद्देश्यिय सहकारी

राष्ट्रिय वगनासकाली समाचार

विष्णु घिमिरे

पाल्पा
शनिबार २० असार
बगनासकाली बहुउदेश्यीय सहकारी संस्थाले किसानहरुलाई विभिन्न सामाग्रीहरु वितरण गरेको छ । पशुपालनलाई व्यवसायिक गर्ने उदेश्यले सहकारीका ५० जना सदस्यहरुलाई पानी राख्ने १ हजार लिटरको ट्याङकी, घाँस काट्ने मेसिन, मकैको दाना, दुध बोक्ने वाल्टिन लगायतका सामाग्रीहरु वितरण गरेको छ ।

घाँस काट्नका लागि दिइएको मेसिन जडान गर्दै कृषकहरु

आधुनिक भैसी पालन तथा मोडल डेरी संचालन कार्यक्रम अन्र्तगत कृषकहरुलाई सामाग्री वितरण गरिएको सहकारीका अध्यक्ष कृष्ण प्रसाद भुसालले जानकारी दिनुभयो । ५ नं. प्रदेश सरकारको २५ लाख र कृषकको २५ लाख गरी ५० लाखको कार्यक्रम अन्र्तगत वगनासकालीका ५० जना भैसी पालन गर्ने किसानहरुले गोठ तथा भकारो र थरी सुधार गरिसकेको सस्थाका सचिव कमलराज तिमिल्सेनाले बताउनुभयो । ५० जना कृषकहरुले २ वटा का दरले भैसी पालन गरिरहेका छन् । आधुनिक र व्यवसायिक भैसी पालनका लागि भकारो, गोठ र थरी सुधार गरिसकेको कृषकहरुले बताएका छन् । व्यवसायिक भैसी पालनमा सहकारीको सहयोग प्राप्त भएकोमा कृषकहरु खुसी भएका छन् । कृषि सामाग्री संगै टिमुर, कागती तथा सुन्तलाका विरुवाहरु समेत वितरण गरिएको सहकारीले जनाएको छ ।
शनिबार सामाग्री वितरणमा बगनासकाली गाउपालिका वडा नं. ८ का वडा अध्यक्ष गणेश प्रसाद बस्यालले अहिले ५० जना कृषकहरुलाई मात्र कार्यक्रम आएपनि विस्तारै सबै सदस्यहरुले कार्यक्रमबाट फाइदा लिन सक्ने बताउनुभयो । सहकारीका सल्लाहकार तथा वेद मावि बराङ्दीका अध्यक्ष गणेश प्रसाद बस्यालले बचत र ऋणको साँधुरो घेराबाट माथी उठेर कृषकहरुको हितमा लागेको बताउनुभयो ।
बगनासकाली बहुउद्देश्यिय सहकारी संस्थाले छिट्टै तानसेनमा डेरी संचालन गर्ने तयारी समेत गरेको छ । डेरीका लागि आवश्यक सामाग्रीहरु समेत ल्याइसकेको सहकारीले जनाएको छ ।

कृषकहरुलाई वितरण गर्न राखिएका पानी टयाङ्कीहरु