अवैध औषधी विक्रीको आरोपमा ३ जना पक्राउ

तानसेन राष्ट्रिय समाचार

पाल्पा १४ बैशाख
लागुऔषध बेचेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । तानसेन नगरपालिका–७ बर्तुङबाट सरस्वती खनाल, छोराहरू प्रकाश र विवेक कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अवैध औषधि बिक्री भइरहेको सूचनाका आधारमा खानतलासी गर्दा सरस्वती मेडिकल हलमा रहेको भान्सा कोठाबाट ३ सय ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै खनालको घरबाट ट्रामाडोल हाइड्रोक्लोराइड, क्याप्सुल आईपी ट्रामोल–५० बरामद गरिएको छ। ११ वटा प्याकेटभित्र ३ हजार २ सय ९५ क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।

अवैध औषधि विवेक सुत्ने कोठामा फेला परेको हो। तानसेन–४ होलाङ्दीमा ६ युवायुवतीले उक्त क्याप्सुल सेवन गरेको भेटिएपछि उनीहरूकै बयानका आधारमा प्रहरी मेडिकल हल पुगेको हो। घरमा खानतलासी गर्दा ठूलो परिमाणमा अवैध औषधि भेटिएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताउनुभयो। टीनको बाकसमा सिरकले ढाकेर भित्र लुकाएर राखिएको भेटिएको थियो।