रैनादेवी छहराः बाझो जमिनमा अन्नवाली लगाए प्रतिरोपनी तीन हजार अनुदान

राष्ट्रिय रैनादेवी समाचार

पाल्पा १२ बैशाख
कोरोना भाइरस संक्रमणको त्रासका कारण लकडाउन जारी छ । गत चैत्र ११ देखी सुरु लकडाउन कहिले खुल्ने निश्चित छैन् । जारी लकडाउनका कारण खाद्यान्नको अभाव हुनसक्ने सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । यसै विच केही स्थानीय सरकारहरुले कृषिलाई अगाडी बढाउन विभिन्न राहत तथा प्रोत्साहनका र्काक्रमहरु सार्वजनिक गरेका छन् । तानसेन तथा बगनासकाली गाउपालिकाले किसानहरुले उत्पादन गरेका तरकारीहरु खरिद गरी विक्री गर्नुका साथै विउ विजन खरिदमा अनुदान दिने निर्णय गरेका छन्


यता पाल्पाको पश्चिममा अवस्थित रैनादेवी छहरा गाउपालिकाले भने बाझो जमिन हराभरा गराउने अभियान थालेको छ । रैनादेवी छहरा गाउँपालिकाले बर्षौ देखि बाँझो रहेको जमिनमा खेति गर्न किसानहरुलाई अनुदान दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले बाँझो जमिनमा खाद्यान्न, तरकारी र फलफूल खेति गर्ने किसानलाई प्रोत्साहन स्वरुप अनुदान दिने निर्णय गरेको हो । बाँझो जमिनमा कागती, सुन्तला र फलफूल रोपेमा प्रतिरोपनी दुइ हजार रुपैयाँका दरले अनुदान दिने गाउँपालिकाले जनाएको छ ।
यस्तै बाँझो जमिनमा अन्नबाली र तरकारी खेति गरेमा पालिकाले प्रतिरोपनी तिन हजार रुपैयाँ दिने निर्णय गरेको छ । “कृषि उत्पादन बढाउन र आत्मनिर्भर बनाउन कृषकहरुलाई प्रोत्साहन गर्न यो कार्यक्रम ल्याइएको हो । ” गाउपालिका अध्यक्ष राम बहादुर कार्कीले बताउनु भयो।