कृषि एम्बुलेन्सः किसानको तरकारी सोझै ग्राहकमाझ

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

विष्णु घिमिरे
पाल्पा ७, वैशाख
सस्तोमूल्यमा तरकारी उपलब्ध गराउन तानसेनमा कृषि एम्बुलेन्सको सुरुवात भएको छ । लकडाउनका कारण तानसेन वजारमा घरभित्रै वसेका उपभोक्तालाई ताजा र सस्तो मूल्यमा तरकारी उपलब्ध गराउन घर घरमा  कृषि एम्बुलेन्सको सुरुवात भएको बताइएको छ ।

तानसेन युवा परिषदले मदनपोखरामा उत्पादित तरकारी वजारसम्म ल्याएर विक्री वितरण गरेको हो । मदनपोखराका किसानहरुको तरकारी मदनपोखरा संगम बहुउद्येश्यीय सहकारीले संकलन गरी तानसेन युवा परिषद मार्फत विक्री वितरण गरिएको थियो । काउली प्रति केजी २०, बन्दा प्रति केजी १० र काक्रो प्रति केजी ३५ दरको सहुलियतमा विक्री गरिएको तानसेन युवा परिषदले जनाएको छ ।

“लकडाउनका कारण किसानले बेच्न अवसर नपाएको र लकडाउनका कारण घरवाहिर निस्कन नपाएका उपभोक्तालाई विक्री वितरणमा सहजिकरण गरेका छौं ।” तानसेन युवा परिषदका अध्यक्ष गुँरास आत्रेयले बताउनुभयो । आइतवार विहान ९ वजे देखी ११ वजे सम्म विक्री गरिएको तरकारी किन्न टुँडिखेलमा उपभोक्ताहरु जम्मा भएका थिए । “घर घरमा लगेर विक्री गरिने भनिएपनि आज उपभोक्ता एकै ठाउँमा भेला भएकोले टुँडिखेलबाट विक्री गरियो ।” अध्यक्ष गुँरास आत्रेयको भनाई छ । मदनपोखरा संगम बहुउदेश्यिय सहकारीका अध्यक्ष खेमराज न्यौपानेले भोलीबाट घर घरमै गाडी लगेर विक्री गरिने पाल्पापाटी संग बताउनुभयो ।“आज २४ टन विक्री भएको छ, तरकारी अझै वाँकी छ, हामी घर घर आउछौं, एकैठाउँमा भेला नहुनोस ” अध्यक्ष न्यौपानेको भनाई छ ।
“लकडाउनका कारण ताजा र सस्तो तरकारी किन्न पाइएको थिएन निकै खुसी लाग्यो” तानसेन वसपार्कका किरण चित्रकार बताउनुहुन्छ । तानसेन नगरपालिकाको वडा नं. ८ र ९ मदनपोखरा तरकारी उत्पादनको पकेट क्षेत्र हो । यहाँ उत्पादित तरकारी, तानसेन आसपास तथा बुटवलमा विक्री वितरण हुदै आएको थियो ।