रम्भाद्धारा ६ शिर्षक रकमान्तर, २० लाखको प्रकोप व्यवस्थापन कोष निर्माण

पाल्पा विविध रम्भा समाचार

विष्णु घिमिरे
पाल्पा ५ वैशाख
रम्भा गाउपालिका पाल्पाले विभिन्न शिर्षकको २० लाख रुपैया स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा रकमान्तर गरेको छ ।
चालु आर्थिक वर्षमा संचालन गर्ने भनिएका आर्युेवेद औषधालय निर्माणको ४ लाख, जडिबुटी संकलन तथा प्रर्वद्धनको १ लाख, सूचना प्रविधि व्यवस्थापनको २ लाख, रिमिघा महोत्सवको ६ लाख, लोक सेवा तालिमको २ लाख, उत्पादनमा आधारित अनुदान व्यवस्थापनको ५ लाख गरी २० लाख रुपैया रकमान्तर गरि कोष निर्माण गरेको हो ।
रम्भा गाउपालिका पाल्पाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने वजेटलाई प्रकोप व्यवस्थापनमा लगाउने निर्णय भएको बताउनुभयो । “कोरोना रोकथामका लागि वजेट अभाव भयो, यो महामारीलाई नियन्त्रण गर्न अन्य खर्च शिर्षकबाट रकमान्तर गरी कोष बनाएका छौं ।” अध्यक्ष भण्डारीको भनाई छ ।


रम्भा गाउपालिका पाल्पाले दोस्रो चरणको राहत वितरणको लागि छुटेकाहरुको तथ्याङक संकलनको काम गरिरहेको छ । “पहिलो चरणको राहतमा कोही छुटेका हुन सक्छन्, उनीहरुको तथ्याङक निकालेपछी केही दिनमानै दोस्रो चरणको राहत वितरण गर्दैछौं ।” गाउपालिका अध्यक्ष विष्णु भण्डारीले पाल्पापाटीलाई बताउनुभयो ।

घर घरमै सामाजिक सुरक्षा भत्ता वितरण
यसै विच रम्भा गाउपालिका पाल्पामा सामाजिक सुरक्षा भत्ता वितरण सुरु भएको छ । लकडाउनका कारण मानिसहरु घरवाहिर ननिस्कन भनिएकोले घर घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । “वडा सचिव र जनप्रतिनिधिहरुलाई स्वास्थ्य सुरक्षाका सामाग्रीहरु दिएर घर घरमै वितरण गर्न भनिएको छ ।” अध्यक्ष भण्डारीले भन्नुभयो । रम्भा गाउपालिकामा २ हजार ५ सय ५७ जनालाई २ करोड ३० लाख बरावरको सामाजिक सुरक्षा भत्ता वितरण हुने बताइएको छ ।