पाल्पा व्यापार संघद्धारा मास्क र स्यानिटाइजर निशुल्क वितरण

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा व्यापार संघले जिल्लाका सबै स्थानीय तह, प्रहरी, अस्पताल, पत्रकारहरु तथा सर्वसाधारणहरुलाई समेत गरी ३ हजार मास्क र १ सय बढी स्यानिटाइजर निशुल्क वितरण गरेको छ ।

पाल्पा
चैत्र २३
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन पाल्पा व्यापार संघले नागकिरलाई सचेत बन्न आग्रह गरेको छ । संक्रमण फैलिन नदिन अपनाइएको सचेतनाले फाइदा पुगेको संघले जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै व्यापार संघ लकडाउनको समयमा आपूर्ति व्यवस्थापनलाई सहज वनाउन क्रियाशील भएको जनाएको छ ।
संघले कोरोना संक्रमणवाट बच्न एकान्तवास नै उत्तम विकल्प भएको हुदाँ यसको निरन्तरता र सरकारको लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि आव्हान समेत गरेको छ । संघले विदेशवाट आएका सवै नागरिक इमान्दारपूर्वक क्वारेन्टाइनमा बसेर आफु बाँचेर अरुलाई बचाउने अभियानमा जुट्न आग्रह गरेको छ ।


संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले जिल्ला स्तरीय खाद्यआपूर्ति समितिमा रहेर क्रियाशिल हुनुका साथै संस्थाको तर्फवाट कोरोना भाइरस संक्रमणको रोकथामका लागि मास्क वितरण साथै सचेतनामूलक कार्यक्रम गरेको बताउनुभयो । पाल्पा व्यापार संघले जिल्लाका सबै स्थानीय तह, प्रहरी, अस्पताल तथा सर्वसाधारणहरुलाई समेत गरी ३ हजार मास्क निशुल्क वितरण गरेको थियो । जिल्ला भित्र अत्यावश्यक वस्तु तथा सेवाको सहज आपूर्तिका लागि आवश्यक सहजिकरण समेत गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा संघमा आवद्ध सदस्यहरुको नविकरण असहज परिस्थितिका कारण २०७७ जेठ १५ गतेसम्म नविकरण म्याद थप गरेको उल्लेख गरेको संघका सचिव परशुराम पौडयालले जानकारी दिनुभयो । गत फागुन १ गते देखी ११ गते सम्म माडी, दमकडामा भएको महोत्सवमा भएको आम्दानी खर्च मुलुकको सहज परिस्थिति अनुसार सार्वजनिक गर्ने तयारी भएको सचिव पौडयलले बताउनुभयो । संघले पाल्पाली पत्रकारहरुलाई कोरोना भाइरस संक्रमणवाट बच्नका लागि मास्क र सेनिटाइजर समेत वितरण गरेको छ ।