तानसेन ९ दमकडामा पाल्पा महोत्सव हुने

तानसेन राष्ट्रिय समाचार

पाल्पा
२७ पौष
पाल्पा व्यापार संघको आयोजनामा यहि फागुन १ गतेदेखि ११ गतेसम्म तानसेनमा पाल्पा महोत्सव आयोजना गरिने भएको छ। तानसेन नगरपालिका–९ मदनपोखराको दमकडा खेलमैदानमा महोत्सव आयोजना हुने भएको हो।
‘जिल्लाको कृषि, पर्यटन, व्यापार प्रवद्र्धन र विकासका लागि सहयोग पुर्‍याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जिबी पोखरेलले जानकारी दिनुभयो। महोत्सवमा ताजा तरकारी, फलफुल, माछा तथा अन्य कृषि उपज, दुग्ध र दुग्धजन्य वस्तु, बीउविजन तथा मलखाद, कृषि औजार, प्रविधि, यन्त्र, जडीबुटीजन्य औषधी, छालाजन्य सामग्री, फर्निचर तथा फर्निसिङ्ग, दैनिक उपभोग्य वस्तु, पाल्पाली ढाका तथा करुवा प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिनेछ। महोत्सवमा २०० बढी स्टल राखिने र अधिकांशमा कृषिसम्बन्धी प्रदर्शनी गरिनेछ। महोत्सवलाई करिब तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान र ५ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अनुमान छ। महोत्सवबाट करिब ७० लाख रुपैयाँ आम्दानी हुने र यसमध्ये ४० लाख रुपैयाँ खर्च गरिने तथा ३० लाख रुपैयाँ नाफा हुने अनुमान रहेको सचिव पर्शुराम पौडेलले बताउनुभयो। महोत्सवमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता, गाउँपालिकास्तरीय विभिन्न सँस्कृति झल्कने सांस्कृतिक प्रतियोगितासमेत हुनेछ। महोत्सव अवलोकन गर्न सर्वसाधारणले ५० रुपैयाँ र विद्यार्थीले २५ रुपैयाँ तिर्नुपर्ने बताइएको छ । साथै जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिले निःशुल्क प्रवेश पाउने सचिव पौड्यालले जानकारी दिनुभयो। महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारले विभिन्न प्रस्तुती समेत दिनेछन्।
महोत्सवमा पाल्पा झल्कने
तानसेन ९ मदनपोखराको दमकडामा आयोजना हुन लागेको पाल्पा महोत्सवमा वास्तविक पाल्पा झल्कने आयोजकले बताएका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक चिरञ्जिबी पोखरेलका अनुसार पाल्पाका १० स्थानीय तहका पर्यटकिय स्थल, कला र संस्कृती झल्कने स्टलहरु पनि समावेश हुने छन् । पाल्पाको कुनै पनि स्थानीय तहमा कुन कुरा महत्वपूर्ण छ त्यो पाल्पा महोत्सवबाट झल्कने छ, संयोजक पोखरेलको भनाई छ ।