पाल्पामा राष्ट्रिय दलित पत्रकार संघ गठन,अध्यक्षमा विश्वकर्मा

राष्ट्रिय समाचार

पाल्पा,पुस २५ ।
सुनिल कार्की ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल पाल्पा शाखाको अध्यक्षमा मिलन विश्वकर्मा चयन भएका छन्। शुक्रबार तानसेनमा सम्पन्न प्रथम जिल्ला भेलाले अध्यक्षमा विश्वकर्मालाई सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा डोलबहादुर विक, सचिवमा विजय बौडेल, सह–सचिवमा संगिता दर्नाल, कोषाध्यक्षमा सन्तोष गहतराज चयन भएका छन्। यस्तै सदस्यहरुमा सुवास विसी, सुकुम नेपाली, सरिता विक, सञ्जु परियार चयन भएको संघका सल्लाहकार किरण कौशलले बताए।


भेलाका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले समाजमा विद्यमान अवस्थामा रहेको जातीय विभेद अन्त्यको लागि जोडदार कलम चलाउन सुझाव दिए। राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले संघ दलित समुदायको हकअधिकारको लागि साझा मञ्च भएको बताए । सामाजिक संरचना अनुसार दलित समुदायका पत्रकारलाई अझैपनि काम गर्न कठिन हुने गरेको नेपाल पत्रकार महासंघ पाल्पाका सभापति राजेशकुमार अर्यालले बताए।

कार्यक्रममा प्रेस संगठन नेपाल पाल्पाका संयोजक राजेन्द्र लिगल, दलित अगुवा राजेन्द्र विश्वकर्मा, ठाकुर प्रसाद लोहागुन, तानसेन नगरपालिकाका कार्यपालिका सदस्य दिपक विश्वकर्मा, दलित अधिकारका लागि साझा अभियान पाल्पाका अध्यक्ष विष्णु बोमरेल, पूर्व अध्यक्ष तीर्थप्रसाद गौतमले समाजमा रहेको विकृति अन्त्यको लागि कलम चलाउन सुझाव दिदै नयाँ नेतृत्वलाई बधाइ तथा शुभकामना दिएका थिए।