पाल्पाको नुवाकोटगढीमा केबलकार सञ्चालन हुने

तिनाउ राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा,पुष १९ ।

बुटवलदेखि नुवाकोट गढीसम्म केबलकार सञ्चालनका लागि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको छ । यसअघि वातावरणीय प्रभाव मूल्याङ्कन भईसकेपनि वन क्षेत्र परेको र आयोजनाको क्षमता थप गर्नुपर्न भएकाले वन मन्त्रालयले पूूरक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत गरेको हो ।

ऐतिहासिक एवं पुरातात्विक महत्व वोकेको मणि मुकुन्दसेन उद्यान फुलबारी देखि उत्तर पुर्व पट्टिको देउराली बाट पाल्पाको नुवाकोट गढी सम्म सिद्धार्थ केबलकार प्राईभेट लिमिटेडले केबलकार सञ्चालनको प्रकृया थालेको हो । पूरक वातावरणीय प्रभाव मूल्याङ्कन भएपछी केबलकार जाने बाटोमा पर्ने १२ सय रुख काटिने सिद्धार्थ केबलकार प्रा.लिका अध्यक्ष राजेन्द्र सिंह गुरुङ्गले जानकारी दिनुभयो । यस अघि बन मन्त्रालयको स्वीकृतिमा पहिलो चरणमा बटम स्टेशनका ३८ वटा रुख काटिएको थियो । “२ बर्ष भित्र सञ्चाल गर्ने गरी प्रकृया अघि बढाएका छौ, पूरक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएपछि अब काम अघि बढ्छ ।” उहाँले भन्नुभयो ।

पहिलो चरणमा ९९ जना स्थानीय व्यवसायीहरुले रु ८० करोड लगानी गरि प्रकृया थलिएको उहाँले बताउनुभयो । केबलकारका लागि ६ दशमलब ०९८ हेक्टर जग्गा प्रस्ताव गरिएको थियो । फूलवारीदेखि तल्लो स्टेशन देउरालीडाँडासम्म जाने ५ सय मिटर बाटो तथा पार्किङका लागि २ दशमलव ८८ हेक्टर जग्गा प्रस्ताव गरिएको थियो । आगामि ५ महिनाभित्र रुख कटानको काम सकिने अध्यक्ष गुरुङ्गले बताउनुभयो ।

फुलबारी देखि उत्तर पुर्व पट्टिको देउराली बाट पाल्पाको नुवाकोट गढी सम्म संचालन हुने सो केवलकारको लम्बाई २ किमि हुने छ । बुटवल–नुवाकोट केबलकारका लागि सिद्धार्थ केबलकार प्रालिले डिपीआर समेत सम्पन्न गरिसकेको छ । केवलकार सञ्चालनका मन्त्रिपरिषद् बैठकले अनुमति दिने निर्णय गरेको थियो । त्यस लगत्तै बन तथा भु संरक्षण बिभाग र सिद्धार्थ केवलकार प्रालीका बिचमा सम्झौता भएको थियो । केवलकारमा एक पटकमा ८ जना सम्म बस्न मिल्ने २२ वटा गुन्डोला रहने छन् । एक घण्टामा ५ सय जना व्यक्ति ओसार पसार गर्नसक्ने केबलकार छनौटका लागि विभिन्न कम्पनिको दररेट र गुणस्तर अध्यनन गर्ने काम भइरहेको प्रालिले जनाएको छ ।

केवलकार सञ्चालन पछि लुम्बिनी आउने आन्तारिक एवं बाह्य पर्यटकहरु सजिलै नुवाकोट सम्म पुग्ने केबलकार प्रालिका सञ्चालक माधव नेपालले बताउनुभयो । “बुटवलको अत्याधिक गर्मि मौषममा होस वा अत्याधिक जाडो मौषममा नुवाकोटको मौषम अनुकुल रहेको हुन्छ । मौषमको यहि महत्वपुर्ण अनुकुलताकै कारण पनि नुवाकोटमा पर्यटकिय आकर्षण बढेको छ, नुवाकोट विकास समितिका अध्यक्ष समेत रहनुभएका नेपालले भन्नुभयो, यहि कारण पनि व्यवसायीहरु लगानी गर्न हौसिएका हुन् ।” बुटवलबाट उत्तर ११ किलोमिटरको दुरीमा रहेको नुवाकोटमा गर्मी छल्न र वनभोज खान जाने आन्तरिक पर्यटकको संख्या बढेपछि यहां पर्यटनको सम्भावना देखेर यस क्षेत्रका ब्यवसायीहरुले लगानी गरेका हुन् ।

नुवाकोटको पर्यटन प्रवद्र्धनका लागि प्रदेश ५ सरकारले सांस्कृतिक डवली निर्माण गर्दै छ । यो वर्ष डिपि आर पुरा गरि काम शुरु हुने छ । नेपाल–अंग्रेज युद्धमा नेपाली फौजले विजय प्राप्त गरेको महत्वपूर्ण ऐतिहासिक किल्ला समेत रहेकाले केबलकार सञ्चालनपछि यो स्थान पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने सिद्धार्थ केबलकार प्रालिका सञ्चालक पिएल श्रेष्ठको भनाइ छ ।

नेपाल–अंग्रेज युद्धमा नेपाली वीरहरुले अंग्रेजलाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्लाको सहायक गढी र गौतमबुद्धका पिता शुद्धोधनका गुरु ऋषि कालदेवलको आश्रम स्थलका लागि नुवाकोट प्रसिद्ध छ । बुटवलको फुलवारीदेखि ३ किलोमिटरको पैदलयात्रामा पनि यहां पुग्न सकिन्छ । मणिमुकुन्द सेन उद्यान नजिकैबाट नेपाली सेनाको सहयोगमा यहां पुग्ने ट्रेकिङ् रुट निर्माण गरिएको छ ।