सिद्धबाबामा सुरुङ मार्ग : डेढ महिनाभित्र ठेक्का आह्वान गरिने, ३ वर्षमा निर्माण पूरा गर्ने लक्ष्य

तानसेन तिनाउ पाल्पा विविध राष्ट्रिय समाचार

पुस १३, पाल्पा ।
सिद्धार्थ राजमार्गअर्न्तगतको सिद्धबाबामा निर्माण हुने सुरुङ मार्गको लागि डेढ महिनाभित्र ठेक्का आह्वान हुने भएको छ । आयोजनालाई उच्च प्राथमिकतामा राखेर अहिले ठेक्का आह्वानको कागजात बनाउने काम भइरहेको सडक विभागले जनाएको छ ।


बढीमा डेढ महिनाभित्र ठेक्का आह्वान गर्ने तयारीमा छौँ’ सडक विभागका उपमहानिर्देशक शिवहरी सापकोटाले जानकारी दिनुभयो ।
उहाँले यो आयोजनालाई कुनै पनि बहानामा ढिला हुन नदिने र ३ वर्षभित्र जसरी पनि पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
सिद्धबाबामा सुरुङ मार्ग बनाउन अर्थ मन्त्रालयले गएकाे मंसिर २ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेखेर स्रोतको सुनिश्चितता दिइसकेको छ ।
‘डिजाइन एण्ड बिल्ड मोडालिटी’ बाट खर्च गर्नेगरी १० अर्ब १५ करोड रुपैयाँको स्रोत उपलब्ध गराउने अर्थ मन्त्रालयले जनाएको छ । मध्यकालीन खर्च संरचनाभित्र रहेकाले १ दशमलव २४ किलोमिटर लामो सुरुङ मार्ग बनाउने स्रोत दिइएको हो ।
बर्खामा हिलाे, पहिरो र हिउँदमा धुले पहिरो जाने कारण यो सडकमा बर्सेनि हुने दुर्घटनामा परि धेरैले ज्यान गुमाउने गरेका छन् ।