झुम्सामा आयोजित महायज्ञको तयारी अन्तिम चरणमा, महायज्ञ मंसिर ११ देखी १८ सम्म चल्ने

तिनाउ राष्ट्रिय समाचार

पाल्पा ८ मंसिर
तिलोत्तमा माध्यमिक विद्यालय तिनाउ ३ झुम्सामा आयोजित महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञ मूल आयोजक समितिले आइतवार विद्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा महायज्ञको तयारी अन्तिम चरणमा पुगेको बताइएको हो ।
यो वर्ष देखी तिलोत्तमा माध्यमिक विद्यालयमा अटो मोवाइल सम्बन्धी प्राविधिक शिक्षा संचालन भएको छ । उक्त प्राविधिक शिक्षालाई आवश्यक आर्थिक संकलनका लागि महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका संयोजक प्रेम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
यहि मंसिरको ११ गते देखी १८ गते सम्म तिनाउ ३ झुम्साको सडकविभाग क्याम्प परिसरमा आयोजित महायज्ञमा पंडित नारायण पोखरेलले कथावाचन गर्नुहुने आयोजकले जनाएका छन् । महायज्ञमा व्रतबन्ध, चौरासी, लक्ष्यवर्ती लगायतका अन्य धार्मिक कार्यहरु समेत हुनेछन् ।
यहि शैक्षिक सत्रदेखी प्राविधिक धारतर्फ सिटीइभिटीको संबन्धनमा अटोमोवाइल सम्बन्धी प्राविधिक शिक्षा विद्यालयले प्रारम्भ गरेको छ । २४ जना विद्यार्थीको कोटा मध्ये अहिले २२ जनाले अध्ययन सुरु गरेको बताइएको छ ।