म्यानपावरको लापरबाहीले पाल्पाका यमबहादुरको मलेसियामा मृत्यु

निस्दी राष्ट्रिय समाचार

कार्तिक २६ , पाल्पा ।
पाल्पाको निस्ति गाउँपालिका-६, अर्चलेका यमबहादुर बयम्बु मगरको म्यानपावर कम्पनीको चरम लापरबाहीले मृत्यु भएको छ । झण्डै दुई महिनाअघि काठमाडौंको रिजा ओभरसिस मार्फत मलेसियाको जेराइ सेक्युरिटी सर्भिसेसमा पुगेका यमबहादुरको आज मृत्यु भएको हो ।


मलेसिया पुगेपछि उनी बिरामी परेका थिए । तर कम्पनी र काठमाडौंको म्यानपावर कम्पनीले यमबहादुरले नाटक गरेको भन्दै उपचारमा लापरबाही गरेका थिए । मृतक यमबहादुरकी बहिनी कान्तिसराले दाजुको उपचारका लागि १ लाख २० हजार रुपैयाँ नातेदार पर्ने एजेन्टलाई दिए पनि कम्पनी र म्यानपावरले उपचार नगरेको गुनासो गरेकी छन् ।

म्यानपावर कम्पनीका एजेन्ट दानबहादुर सोमैमगरले आफूले यमबहादुरलाई पठाउनका लागि सुरुमा ९५ हजार लिएको र बिरामी परेपछि १ लाख २० हजार परिवारबाट लिएर रिजा ओभरसिसलाई दिएको बताए ।
काठमाडौंको रिजा ओभरसिसकी सञ्चालक पुनम श्रेष्ठले आफूले उपचारका लागि पहल गरे पनि सम्भव नभएको बताइन् । उनले कम्पनीले सुरुमा केही नभएको बताएको र पछि उपचारका लागि अस्पताल लगेको जानकारी दिइन् ।
मलेसियाको कम्पनीले सुरुमा यमबहादुरले नाटक गरेको भन्दै अस्पताल लगेको थिएन् । हप्तौँपछि अस्पताल लगेको कम्पनीले एपेण्डिसाइटिस भएको भन्दै शल्यक्रिया भएको जनाएको थियो ।

तर कम्पनीमा कार्यरत नेपालीहरुले म्यानपावर कम्पनी र काम गर्ने कम्पनीले लामो समयसम्म उपचार नगरेका कारण यमबहादुरको मृत्यु भएको जानकारी दिएका छन् ।
यमबहादुरको परिवारले भने म्यानपावर कम्पनी र मलेसियाको कम्पनी दुवैले लापरबाही गरेका कारण मृत्यु भएको भन्दै कारबाहीको माग गरेको छ ।

काठमाडौंबाट मलेसिया पुग्दासाथ बिरामी भएका यमबहादुर लामो समयसम्म नेपाली कामदारको सहयोगमा कोठामा बसेका थिए । कम्पनीले कुनै पनि प्रकारको सहयोग गरेन ।
धेरै दबाबपछि उपचारका लागि अस्पताल लगेपनि राम्रोसँग उपचारमा ध्यान नदिएको नेपाली कामदारको गुनासो छ । नेपाली कामदारले म्यानपावर कम्पनीलाई कारबाही गर्न माग गरेका छन् ।