सहकारी अभियान चलाउदै तिनाउ गाउपालिका

तिनाउ पाल्पा विविध राष्ट्रिय समाचार

विष्णु घिमिरे
पाल्पा
२२ कार्तिक ०७६
तिनाउ गाउपालिका पाल्पाले पालिकाभित्रका सवै घरधुरीलाई सहकारीमा आवद्ध गराउने अभियान संचालन गरिरहेको छ । राज्यको तिन खम्बे अर्थनीतिलाई साकार पार्दै प्रत्येक घरका कम्तिमा एक जनालाई सहकारीमा आवद्ध गराउन अभियान थालिएको हो ।
सहकारीमा आवद्ध नभएका तिनाउ वडा नं. १ कचलको झिङगामारा र ठूलीउदाङका १ सय ६० बढी परिवारका सदस्यहरुलाई सहकारीमा आवद्ध गराउन २ दिने तालिमको समेत आयोजना गरिएको छ ।
तिनाउ गाउपालिका पाल्पाको आयोजना र सिकोडर नेपालको प्राविधिक सहयोगमा कचलको ठूलीउदाङमा शुक्रवार र शनिवार सहकारी तालिम संचालन गरिएको छ । सहकारीको महत्व, सहकारीले आर्थिक विकासमा पु्रयाउने सहयोगका वारेमा तालिममा प्रशिक्षण गरिएको तिनाउ गाउपालिकाका सहकारी प्रमुख शिव आत्रेयले बताउनुभयो ।
तालिममा सिकोडर नेपालका सहकारी अभियन्ता राम प्रसाद ज्ञवाली र लेखापाल श्रीकृष्ण आत्रेयले सहजिकरण गर्नुभएको छ । ठूली उदाङका ९४ घर र झिङगामाराका ६४ घर परिवारका सदस्यहरुलाई तालिम दिइएको वडा अध्यक्ष रोम बहादुर लम्तरीले बताउनुभयो ।
तालिममा तत्कालिन जिल्ला विकास समिति पाल्पाका सभापति झपेन्द्र बहादुर जिसीले सहकारी संचालन नभएसम्म गाउँको विकास नहुने बताउनुभयो । उहाँले साहँुकहा बाट ऋण काडेर चर्को व्याज तिरेर आर्थिक विकास हुन नसक्ने बताउनुभयो । तिनाउ गाउपालिका पाल्पाका अध्यक्ष ओम बहादुर घर्तीले झिङगामारा र ठूलीउदाङ नागरिकलाई कृषि तथा पशुपालनमा स्थानीय सरकारको सहयोगका लागि पनि सहकारी आवश्यक भएको बताउनुभयो । कार्यक्रममा तिनाउ एकिकृत पर्यटन विकास समितिका अध्यक्ष दल बहादुर गुरुङले पर्यटन विकासका लागि सहकारीको महत्व रहेको उल्लेख गर्नुभयो ।
सहकारी संचालनको तालिम पछि कृषि सहकारी खोल्ने, आवश्यक दर्ता प्रक्रिया तथा स्टेशनरी लगायतका सामाग्रीहरु गाउपालिकाले नै प्रदान गर्ने जानकारी गराइएको थियो ।
तिनाउमा २१ वटा सहकारी रहेका छन् । वडा नं. १ कचलमा ३ वटा सहकारी भएपनि झिङगामारा र ठूलीउदाङमा भने सहकारीको पँहुच पुगेको थिएन् । यस क्षेत्रमा अधिकांश जग्गा व्यक्तिका नाममा नभएका कारण पशुपालन र कृषिमा अनुदान तथा सहयोगका लागि पनि सहकारी आवश्यक भएको स्थानीयहरु बताउछन् ।