पूर्वखोला पहिलो पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा

पाल्पा विविध पूर्वखोला राष्ट्रिय समाचार

पाल्पा,कात्तिक ८ ।
पाल्पापाटी डेस्क ।

पाल्पाको पूर्वखोला गाउँपालिका प्रदेश पाँचकै पहिलो पूर्ण संस्थागत सुत्केुरी गाउँपालिका घोषणा भएको छ ।
पूर्ण संस्थागत सुत्केरीका निश्चित मापदण्ड पुरा गरेको गाउँपालिका विहिबार पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा भएको हो ।

गाउँपालिकाले प्रसुतीको क्रममा आमा तथा नवजात शिशुको मृत्युदर कम गर्न पालिका भित्रका ६ वटै स्वास्थ्य संस्थामा बर्थिङ्ग सेन्टर स्थापना गरेको थियो । पालिकालाई विहिबार ५ नं प्रदेश स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय पाल्पाको तर्फबाट गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको हो । घोषणा कार्यक्रममा प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले जनतााई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले वर्थिङ्ग सेन्टरमा स्वास्थ्यकर्मी थप तथा वर्थिङ्ग सेन्टर स्थापना, सचेतना तथा प्रोत्साहन कार्यक्रम सञ्चालन संगै पूर्ण संस्थागत सुत्केरी घोषणा सम्भव भएको बताउनुभयो ।

स्वास्थ्य शाखा संयोजक श्रीराज आचार्यले गत आर्थिक वर्षमा ३ सय १० मध्ये १ सय ६९ जना पालिकाकै स्वास्थ्य संस्थामा र १ सय ४१ जना अन्य स्वास्थ्य संस्थामा सुत्केरी भएको जानकारी दिनुभयो ।