पूर्वखोला गाउपालिका ५ नं. प्रदेशकै पहिलो पूर्ण सस्थागत सुत्केरी गाउपालिका घोषणा

पूर्वखोला राष्ट्रिय समाचार

गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले आर्थिक वर्ष २०७५्०७६ मा ३ सय १० सुत्केरी मध्ये १ सय ६९ जनाले पालिकाभित्रका स्वास्थ्य संस्थामा र १ सय ४१ जनाले अन्य अस्पतालमा प्रसुति सेवा लिएकाले गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको बताउनुभयो ।

पाल्पा
७ कार्तिक ०७६

पाल्पाको पूर्वखोला गाउपालिका ५ नं. प्रदेशकै पहिलो पूर्ण सस्थागत सुत्केरी गाउपालिका घोषणा भएको छ ।
गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पूर्वखोला गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्नुभएको हो ।
मन्त्री बरालले आफ्नै अग्रसरतामा स्वास्थ्य संस्थामा सुत्केरी गराउने अभियान सञ्चालन गरेर पूर्वखोलाले प्राप्त गरेको सफलताले सिंगो प्रदेशलाई सामाजिक सन्देश दिएको समेत बताउनुभयो ।

मन्त्री बरालले प्रदेश सरकार मार्फत तानसेनमा रहेको पाल्पा अस्पताल र रामपुर अस्पतालको स्तरवृद्धि, दक्ष स्वास्थ्यकर्मी थप गर्ने र उपकरणहरु पठाउने जानकारी समेत दिनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले पूर्वखोलाले सबै वडामा वर्थिङ सेन्टर स्थापना गरेर शतप्रतिशत संस्थागत सुत्केरी गराउन सफलभएकोमा बधाई ज्ञापन गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले आर्थिक वर्ष २०७५्०७६ मा ३ सय १० सुत्केरी मध्ये १ सय ६९ जनाले पालिकाभित्रका स्वास्थ्य संस्थामा र १ सय ४१ जनाले अन्य अस्पतालमा प्रसुति सेवा लिएकाले गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको बताउनुभयो । उहाँले संविधानको मौलिक हकमा रहेको स्वास्थ्य र शिक्षाको अवस्था सुधारलाई गाउँपालिकाले प्राथमिकताका साथ योजना बनाएर कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो ।
प्रदेशसभा सदस्य युवराज खनाल, जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल, नेपाल कम्युनिष्ट पार्टी नेकपाका कमल पाण्डेय, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक भोगबहादुर थापा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थी, नेकपाका देवीप्रसाद पंगेनी, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख कल्पना पौडेल, रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालमाथागढीका स्वास्थ्य संयोजक यमबहादुर चिदी, सुआहाराका जिल्ला संयोजक ज्ञानदीप आचार्य, जनमार्ग माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबहादुर दिश्वा, विद्यार्थी नेता नविन आचार्यलगायतले गाउँपालिकाले गरेको कामको प्रशंसा गर्दै शुभकामना दिनुभयो ।

कार्यक्रममा पूर्वखोलाका स्वास्थ्य संयोजक श्रीराज आचार्यले गत वर्ष ३ सय १० जना सुत्केरी स्वास्थ्य संस्थामा सुत्केरी भएको र चालु वर्षको यो अवधिसम्म ९९ जना स्वास्थ्य संस्थामा गएर प्रसुति सेवा लिएको तथ्यांक प्रस्तुत गर्नुभयो । चालु वर्षको असोज मसान्तसम्म पालिकाभित्रका स्वास्थ्य संस्थामा ४४, बाहिरका स्वास्थ्य संस्थामा ५५ जना सुत्केरी भएको र गर्भवती महिलाको स्वास्थ्यप्रति आमसमुदाय सचेत रहेको जानकारी दिनुभयो ।

गाउँपालिकाका स्वास्थ्य सहसंयोजक मोहन ढकालको सञ्चालन, उपाध्यक्ष भागिरथी भट्टराईको स्वागत र अध्यक्ष नुनबहादुर थापाको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।