महरालाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति

पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,कात्तिक ७ ।
संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले प्रहरीको मागअनुसार थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । कात्तिक ३ गते पाँच दिनका लागि थपिएको म्याद आज रातीदेखि सकिने भएकाले महानगरीय प्रहरी परिसर काठमाडौंले थप सात दिनका लागि म्याद थप्न बिहीबार अदालतमा उपस्थित गराएको थियो ।

डिएनए रिपोर्ट र कल डिटेल हेर्न बाँकी रहेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो ।

महराका तर्फबाट बहस गरिरहेका कानुन व्यवसायी रमण कुमार श्रेष्ठले जमानतमा रिहा गर्नुपर्ने माग गरे पनि अदालतले प्रहरीको मागअनुसार नै सात दिन म्याद थपेको छ ।
दसैँ अघि असोज १९ गते पक्राउ परेका महराको तिहार पनि हिरासतमै बित्ने भएको छ ।