एघार वर्षपछि निस्दीमा बिजुली बल्यो

निस्दी पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा, ४ कात्तिक ।
पाल्पापाटी डेस्क ।
पाल्पाको निस्दी गाउँपालिका–५ को गल्धाफाँट क्षेत्रमा एघार वर्षपछि बिजुली बलेको छ । विद्युतीकरणका लागि काम थालनी भएको ११ वर्षमा बिजुली बलेपछि गाउँवासी खुशी छन । स्थानीय लालीगुराँस विद्युत सहकारीले जिम्मेवारी लिएर विसं २०६५ देखि गाउँमा विद्युत् सेवा सञ्चालनका लागि काम अगाडि बढाएको थियो ।

सहकारीले दुई वर्ष अघिदेखि तीव्र रुपमा विद्युत विस्तारको काम गरेपछि आइतवार साँझदेखि गाउँमा बिजुली बत्ती बल्न थालेको छ । बत्तीमुनिको अध्याँरोमा बसेका साविक गल्धा गाविस वडा नं ८ र ९ का २ सय घरधुरीमा एकैसाथ बिजुली पुगेपछि गाउँ नै झिलिमिली बनेको छ ।

लामो समयको प्रयासपछि ११ केभीको राष्ट्रिय प्रसारण लाइनबाट गाउँमा विद्युत् सेवा पु¥याउन सफल भएको सहकारीका अध्यक्ष दुर्गा सोमैले बताउनुभयो ।

विद्युत लाइनको पहुँच नपुगेका निस्दी गाउँपालिकाको वडा नं ३, ४, ५, ६ र ७ वडामा विद्युत् विस्तार गर्ने योजनाअन्तर्गत साविक गल्धा गाविसका ८ र ९ वडामा बत्ती बाल्ने काम सम्पन्न भएको छ । बाँकी वडामा विद्युत् विस्तारको काम तीव्र रुपमा अगाडि बढाइएको छ ।