यी हुन पाकिस्तानको युद्धमा मारिएका पाल्पाली युवा !

पाल्पा विविध रामपुर राष्ट्रिय समाचार

पाल्पा, कार्तिक ४
पाल्पापाटी डेस्क ।
पाकिस्तान संगको युद्धमा मारिएका भारतीय सेनाका सिपाही पाल्पा रामपुर नगरपालीका ४ सदावर्तका गमिल कुमार श्रेष्ठ भएको खुलेको छ । गमिल भारतीय सेनामा भर्ती भएको जम्मा २७ महिना मात्रै भएको परिवारले जनाएका छन् । भर्ती पछि कसम खाएर गएको बैशाखमा १५ दिने छुट्टीमा आएका २४ बर्षिय गमिलले भर्ती हुन भाकल गरेबापत पन्चवलीपुजा गरी हाजिरमा फर्किएका थिए ।


अविवाहित श्रेष्ठको घरमा ९६ बर्षिय हजुरबा धन बहादुर, बुवा रुद्रनारायण, आमा सिता, दाजु गणेश र उहाका श्रीमती हुनुहुन्छ । घटना भए संगै उहाँका बा, आमा, दाजु भाउजु र छिमेकीहरु सोमबार बिहानै भारत गएको छिमेकी कृष्ण लम्सालले जानकारी दिनुभयो । कक्षा १२ मा पढ्दा पढ्दै भारतीय सेनामा भर्ना भएका गमिल निकै मिलनसार र सहयोगी रहेको गाभिल संगै माध्यमिक तहसम्म अध्ययन गरेको दान बहादुर थापाले जानकारी दिनुभयो । जेठा बुवाको छोरो दिपक श्रेष्ठ भारतीय सेनामा भर्ना भएपछि गमिल पनि दिपककै सहयोगमा सेनामा भर्ना भएका थिए ।

श्रेष्ठ मारिए संगै सदावर्त गाउँ शोकमा डुबेको वडा अध्यक्ष एक बहादुर नेपालीले जानकारी दिनुभयो । आईतबार राती पाकिस्तान नियन्त्रित कश्मिर ( पीओके) मा भारतीय र पाकिस्तानी सेना बिच भएको दोहोरो भिडन्तमा भारतीय सेनामा कार्यरत राईफल म्यान गामिल संगै भारतीय सेनाका हवल्दार पदमबहादुर श्रेष्ठको मृत्यु भएको थियो । मृत्यु हुने दुबै जना गोर्खा रेजिमेन्टमा कार्यरत थिए ।