बगनासकालीका नागरिकले दशैमा पनि सामाजिक सुरक्षा भत्ता पाएनन् ।

राष्ट्रिय वगनासकाली समाचार

विष्णु घिमिरे
पाल्पा २० असोज, ०७६

नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता व्यवस्था गरेपनि बगनासकालीका नागरिकले भने यो दशैमा सामाजिक सुरक्षा भत्ता पाएनन् । बगनासकाली गाउपालिकाले वैकिङ प्रणाली मार्फत भुक्तानी दिने व्यवस्था गरेपछी ज्येष्ठ नागरिकले भत्ता नपाएका हुन् ।
हिन्दु नेपालीहरुको महान चाड वडा दशै घर–घरमा भित्रिसकेको छ । भोली वडा दशैको टिका रहेको छ । सवैतिर हर्षउल्लास भईरहेका वेला पाल्पा जिल्लाको बगनासकालीका ज्येष्ठ नागरिकहरुलाई भने दशै खल्लो भएको छ ।
गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालका अनुसार नेपाल वैंक लिमिटेड संग सम्झौता गरी वैकिङ प्रणाली मार्फत भुक्तानी दिने निर्णय भएको हो । अध्यक्ष बस्यालले भन्नुभयो । “सम्बन्धित वडामै गई वैंक खाता खोल्ने र वैंक जान नसक्नेहरुको वडामै गई भुक्तानी पनि वैंकले नै दिने सम्झौतामा उल्लेख छ ।” । “नेपाल बैंक लिमिटेड बगनासकालीले सम्झौता त गर्यो तर समयमै काम गर्न नसकेका कारण सामाजिक सुरक्षा भत्ता नपाएका हुन् ।” बगनासकाली गाउपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालको भनाई छ ।
बगनासकाली गाउपालिकाका ९ वडाहरुमा ३ हजार बढी ज्येष्ठ नागरिकहरु छन् । गत भाद्र महिनाबाट वैंकले वडा वडामा पुगेर वैंक खाता खोलेको थियो । सामाजिक सुरक्षा भत्ताको रकम गाउपालिकाले वैंकलाई ढिलो गरि दिएको थियो । नाम गोप्य राख्ने शर्तमा एक जनप्रतिनिधिले भनेका छन् “नेपाल बैंक लिमिटेडले दशै विदा हुन एक दिन अघी मात्र खातामा रकम ईन्ट्रि गर्न नसक्ने भन्दै चेक फिर्ता गरेको छ ।”
बगनासकाली गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत सुन्दर श्रेष्ठले भने चेक फिर्ता नभएको जिकिर गर्दै वैंकका कर्मचारीहरुले काम गर्दा गर्दै नभ्याएको बताउनुभएको छ । नेपाल बैंक लिमिटेड बगनासकाली एक्सटेन्सन काउन्टरप्रमुख ले गाउँपालिकाले ढिलो गरी सम्झौता गरेको, समयमै सामाजिक सुरक्षा भत्ताको लिस्ट नदिएका कारण दशैमामा भुक्तानी दिन नसकेको आरोप लगाउनुभएको छ ।
सरकारले समयमै रकम निकासा गरेपनि बगनासकालीका जनप्रतिनिधि, कर्मचारी र वैंकका कर्मचारीले ढिलासुस्ती गरेका कारण दशैमा पनि सामाजिक सुरक्षा भत्ता वितरण नभएको पत्रकार दिपक ढुङगानाको भनाई छ ।
समयमै काम गर्छु भनी सम्झौता गर्ने वैंकले काम गर्न नसक्नु र गाउपालिकाका कर्मचारीले समयमै काम गराउन नसक्नु दुःखद भएको गाउपालिका उपाध्यक्ष सरस्वती चिदी मगरको भनाई छ । उहाँ भन्नुहुन्छ “दशै जस्तो महान चाडमा पनि सामाजिक सुरक्षा भत्ता नागरिकले नपाउनु विडम्बना हो ।” कर्मचारी र जनप्रतिनिधिहरुको तलव भत्ता समयमै निकासा गर्ने बगनासकाली गाउपालिकाले सामाजिक सुरक्षा भत्ता निकासामा लापरवाही गर्नु दुःखद हो ।