कालीगण्डकीमा पहिरो जाने क्रम रोकिएन

राष्ट्रिय समाचार
सेयर गर्नुहोस

असार २९ , पाल्पा ।

रानीघाटमा निर्माणाधीन पुलभन्दा माथिबाट पहिरो झर्ने क्रम नरोकिँदा स्याङ्जा सटुकाका स्थानीयबासी समस्यामा परेका छन् ।

कालीगण्डकी गाउँपालिका-३, सटुकादेखि पाल्पा जाने मोटरबाटो अन्तर्गत निर्माणाधीन नयाँ मोटरपुलको स्याङ्जातर्फ झण्डै २०० मिटर माथिको भागमा ५० देखि १०० मिटरको दूरीमा धेरै ठाउँमा ठूलाठूला भ्वाङ परेका छन् ।

वर्षा सुरु हुनुभन्दा केही समय अघिदेखि नै बाटोमा भ्वाङ पर्न थालेपछि त्यो बाटो प्रयोग गर्न समेत त्रास बढेको स्थानीय कृष्ण पाण्डेयले जानकारी दिनुभयो । सडकमा परेको भ्वाङ्हरू पटक पटक पुर्दा पनि भ्वाङ नपुरिएपछि सर्वसाधारण जोखिम मोलेर हिँड्न बाध्य छन् ।

सटुका र बटिचौरका स्थानीय बासिन्दाहरुले केही दिन अगाडि वैकल्पिक बाटोको रुपमा गोरेटो बाटो बनाएका थिए तर त्यो बाटोमा पनि पहिरो झरिरहेको छ । पानी पर्ने क्रम नरोकिएकोले पहिरो झरिरहेको स्थानीयको भनाइ छ ।

स्थानीय भने सरोकारवाला निकायले यो विषयमा कुनै कदम नचालेको भन्दै आक्रोशित बनेका छन् ।